काठमाडौँ ।जेनजी अगुवा सुदन गुरुङले सरकारले जेनजीसँग भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखेका छन्। उनले सरकारसँग सम्झौता भए पनि प्रहरीले भदौ २३ र २४ को आन्दोलनमा सहभागी भएका व्यक्तिहरूविरुद्ध मुद्दा चलाउने क्रम रोकेको छैन भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको मोबाइल नम्बर सार्वजनिक गरेका छन्।
गुरुङले भनाइमा उल्लेख गरेअनुसार, रिहा हुन नसकेकाको परिवारले अब सोझै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धिरज जोशीलाई सम्पर्क गर्न सक्नेछन्।
उनले भने, “जेनजी जनादेश प्रधानमन्त्रीबाट हस्ताक्षर गरी राजपत्रमा सार्वजनिक भएको भएतापनि राष्ट्रपतिबाट हस्ताक्षरमा भइरहेको ढिलाइका कारण सम्झौता कार्यान्वयनमा ढिलाइ भएको छ। यसै क्रममा भद्र २३/२४ का आधारमा झुठा मुद्दामा फसाइएका व्यक्तिहरू रिहा हुन सकेका छैनन्। अब पीडित पक्षका परिवारले रिहाइका लागि सिधै गृहमन्त्री र स्वकीय सचिवसँग सम्पर्क गर्न सक्नेछन्।”
गुरुङको यस कदमले सरकारमाथि दबाव सिर्जना गरेको छ र रिहाइ प्रक्रिया चाँडो अगाडि बढाउने अपेक्षा गरिएको छ।





