देश

सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने सङ्कल्प लिएका छौँ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा केन्द्रित गर्ने सङ्कल्प लिएको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले सो दाबी गरेका हुन् ।

संयोजक दाहालले आफूहरूले १६ वटा कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाएर अघि बढेको र त्यही एकताको आधारमा सहमति, सहकार्यको बाटोबाट सबै कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा उभ्याएर समाजवादतिरको यात्रालाई अघि बढाउन चाहेको समेत बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै विभिन्न छलकपट गरेर आफ्नै सहकर्मीहरूमाथि प्रतिशोध साँध्ने काम गरिरहेको आरोप समेत लगाए ।

अध्यक्ष दाहालले भने ‘आफूलाई कम्युनिष्ट भन्नेहरूले विभिन्न छलकपट, जालप्रपञ्च गरेर आफनै सहयोद्धाहरूलाई प्रतिसोध साँध्ने प्रयास भइराखेको छ भने अर्कोतिर हामीले १६ वटा अव बिस्तारै यसमा थपिँदै जान्छ । सबै कम्युनिष्टहरुलाई एउटै ठाउँमा केन्द्रित गर्ने विचार नेपाली कम्युनिष्ट पार्टी यही एकताको, यही सहमति, सहकार्यको यही समाजवादतिरको यात्राको नेतृत्व गर्ने सङ्कल्पसहित आएको पार्टी हो । त्यसकारकाण तपाई हामी सबैले यो कुरा बुझ्न जरुरी छ ।’

संयोजक दाहालले आफूहरूले जेन–जीहरूको माग सम्बोधन गर्ने कामलाई प्रमुखताका साथ अघि बढाएको समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *