देश

प्रतिस्पर्धाबाट नेतृत्व चयनले जबज जीवन्त बनायो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको समितिलाई बधाई दिँदै प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनु जनताको बहुदलीय जनवादलाई जीवन्त बनाउने प्रक्रिया भएको बताएकी छन्।

बधाइ सन्देशमार्फत भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट नयाँ नेतृत्व चयन हुनु एमालेको संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भएको उल्लेख गरेकी छन्।

वक्तव्यमा उनले भनेकी छन्, “यस महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास लिएको छु।”

भण्डारीले महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई धन्यवाद दिएकी छन्। उनले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया भएको उल्लेख गर्दै यसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउने बताएकी छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *