काठमाडौं । सन् २०४५ सम्म शूल्य कार्वन उत्सर्जन गर्ने तथा दिगो विकास लक्ष्य हासिल गर्न स्वच्छ ऊर्जा प्रविधिहरूको विकासमा जोड दिइएको छ ।
जर्मन विकास नियोग (जिआइजेड)द्वारा आज आयोजित ‘नेपालको स्वच्छ ऊर्जा भविष्य, दिगो ऊर्जा चुनौती कोषको उपलब्धि र अवसर’ विषयक छलफल कार्यक्रममा वक्ताहरूले स्वच्छ ऊर्जाको पहुँच विस्तारसँगै बजार निर्देशिक समाधानमार्फत ऊर्जा रूपान्तरणमा जानुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले नेपालमा स्वच्छ ऊर्जा भविष्य निर्माणका लागि दिगो ऊर्जा चुनौती कोष (सस्टेनेबल एनर्जी च्यालेन्ज फण्ड) ले खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी गर्न कोषले प्रोत्साहन गरेको, नवीन प्रविधिको प्रयोग बढाएको र ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्न सहयोग पुगेको बताए ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दिगो ऊर्जा चुनौती कोषजस्ता कार्यक्रमले जलवायु परिवर्तनका असर न्यूनीकरण, रोजगारी सिर्जना र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएको धारणा व्यक्त गरे ।
जिआइजेडका कार्यक्रम प्रबन्धक डा फ्र्याङ्क फेचरले नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै स्वच्छ ऊर्जा प्रवद्र्धनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले दिगो ऊर्जा चुनौती कोषमार्फत साना तथा मध्यम स्तरका ऊर्जा परियोजनालाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गरिएको जानकारी दिए । उक्त कार्यले स्थानीयस्तरमा उद्यमशीलता विकास, ऊर्जा पहुँच विस्तार र दिगो विकास लक्ष्य हासिल गर्न मद्दत पुगेको फेचरको भनाइ छ ।
कार्यक्रममा केन्द्रका उपकार्यकारी निर्देशक डा नारायणप्रसाद अधिकारी र उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, जर्मन दूतावासका बेन्जामिन सैडेल, जर्मन विकास नियोग (जिआइजेड) का कार्यक्रम प्रबन्धक डा फेचर, विनका सल्लाहकार उसा मास्के मानन्धर, राष्ट्रिय वाणिज्य बैंकका राजीवमङ्गल जोशी, नेपालस्थित बेलायती दूतावासका साम फेल, ऊर्जा विशेषज्ञ सुमन ढकाललगायत वक्ताले आफ्नो धारणा राखेका थिए ।
स्वच्छ, दिगो तथा वातावरणमैत्री ऊर्जा विकासका सम्भावना, हालसम्म भएका उपलब्धि र आगामी अवसरबारे कार्यक्रममा छलफल गरिएको थियो ।
वक्ताहरूले स्वच्छ ऊर्जामा लगानी बढाउन अझै नीतिगत सुधार, निजी क्षेत्रको सक्रिय सहभागिता र अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको धारणा राखेका थिए । यस्तै, ऊर्जा क्षेत्रमा नवप्रवर्तन, प्रविधि हस्तान्तरण र स्थानीय क्षमताको विकासमा जोड दिनुपर्नेमा धेरैको जोड थियो ।
कार्यक्रममा दिगो ऊर्जा चुनौती कोषअन्तर्गत सञ्चालनमा आएका परियोजनाका अनुभव, सिकाइ र सफलताका कथा प्रस्तुत गरिएका थिए ।




