काठमाडौँ ।नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य तथा पदाधिकारीलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ।
शुक्रबार काठमाडौँमा सम्पन्न नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले परिषद् गठनसम्बन्धी जानकारी दिए। उनका अनुसार पार्टी अनुभवयुक्त नेताहरूको सुझाव र मार्गदर्शनलाई संस्थागत गर्न सल्लाहकार परिषद् गठन गर्न लागिएको हो।
बैठकमा विभिन्न प्रस्तावहरू निर्णयार्थ प्रस्तुत भइरहेका छन्। साथै, एमालेले पुस २६, २७ र २८ गते दोस्रो केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको छ। केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार उक्त बैठकमा मनोनयन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायत महत्वपूर्ण विषयमा निर्णय हुनेछ।
हाल ३०१ सदस्यीय रहेको केन्द्रीय कमिटीमध्ये एक तिहाइ सदस्य रहने गरी पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ सदस्य रहने गरी स्थायी कमिटी गठन गरिने पार्टीले जनाएको छ।
११औँ महाधिवेशनपछि बसेको पहिलो बैठकले संगठनात्मक संरचना मजबुत बनाउँदै पार्टीलाई थप व्यवस्थित ढंगले अघि बढाउने तयारी गरेको एमालेले जनाएको छ।




