देश

अब कुनै प्यानल छैन, हामी सबै एकताबद्ध छौंः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटी एकढिक्का रहेको बताएका छन् । ११ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव सम्पन्न भएसँगै प्यानलहरु सकिएका बताएका हुन् ।

उनले अब पार्टीमा कुनै प्यानल नभएको बताए । उनले भने, ‘हाम्रा विरोधीले एमालेको एकता भाँड्न आलोचनात्मक चेत छैन भनेर उल्क्याउन सक्छन्,तर अब एमालेमा महाधिवेशनपछि कुनै प्यानल छैन हामी एकजुट छौं । महाधिवेशनको चुनावसँगै एमालेमा अब कुनै प्यानल छैन,हामी सबै एकताबद्ध छौं । हिजो चुनाव लड्दा प्यानलहरु बने होलान् । तर चुनाव सकिएसँगै प्यानल पनि सिद्धिए । एमाले एकजुट छ ।’

उनले पार्टीलाई अब एकताको भावनाकासाथ नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । विगतमा पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा त्यस्ता कुनै पनि कमजोरी हुन नदिने बताए ।

उनले नेताहरुलाई असन्तुष्टि भए पार्टी बैठकमा राख्न, तर संचारमाध्यममा गएर नबोल्न निर्देशन दिए । अध्यक्ष ओलीले पार्टी एकतामा खलल पुर्याउन उचाल्नेहरुका कुराहरुमा प्रभावित नहुन आग्रह गरे । उनले भने, ‘एमालेमा केपी ओलीको अधिनायवाद चल्छ, आलोचनात्मक चेत हराएका झोले बस्नछन्, खै केपी ओलीका विरुद्ध बोलेको भन्छन् । लिडरशीप प्रति अनास्था जगाउनका लागि पार्टी एकतामा खलल पुर्याउन उचाल्नेहरुका कुराहरुमा प्रभावित हुनुहुँदैन ।’

उनले एमाले अनुशासनमा चल्ने पार्टी भएकाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो कार्य एमालेले नगर्ने बताए । उनले देश अप्ठ्यारो अवस्थामा रहेकाले यसलाई सहज बनाउने जिम्मेवारी एमालेले लिने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *