राजनीति

जेनजी आन्दोलनका माग नसुन्ने हो भने नेतृत्व छोड्नुपर्छ : किशोरी कार्की

काठमाडौं । जेनजी आन्दोलनकी प्रतिनिधि किशोरी कार्कीले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई कडा शब्दमा चेतावनी दिएकी छन्। आन्दोलनकारीका माग सम्बोधन गर्न असमर्थ भए प्रधानमन्त्रीले पदमै बसिरहनुको औचित्य नरहेको भन्दै उनले तत्काल राजीनामा दिन आग्रह गरिन्। बिहीबार आयोजित ‘जेनजी आन्दोलनको एक सय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रियामा बोल्दै कार्कीले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवार तथा घाइतेहरूलाई उचित क्षतिपूर्ति दिनु सरकारको पहिलो दायित्व भएको बताइन्। उक्त दायित्व पूरा गर्न नसक्ने नेतृत्वले नैतिक जिम्मेवारी लिँदै मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ थियो।

“प्रधानमन्त्रीज्यूलाई स्पष्ट भन्न चाहन्छु—यदि तपाईंसँग जेनजी आन्दोलनका माग पूरा गर्ने क्षमता छैन भने पद छोडिदिनुहोस्,” कार्कीले भनिन्, “देशमा जोस, जाँगर र क्षमतायुक्त शिक्षित युवाहरू छन्, जसले जिम्मेवारी लिन सक्छन्।”उनले परिवर्तनको गतिसँगै नेतृत्व पनि बदलिनुपर्ने धारणा राख्दै वर्तमान सरकारले सम्झौताका नाममा काठमाडौं केन्द्रित केही व्यक्तिमात्र सुन्ने प्रवृत्ति देखाएको आरोप लगाइन्। “काठमाडौंमा रहेकाहरूलाई मात्र जेनजी अगुवा मानेर गाउँ–गाउँमा रहेका आन्दोलनकारीलाई बेवास्ता गरिएको छ,” उनले भनिन्।

कार्कीले घाइते र शहीद परिवारको पीडामाथि राजनीति नगर्न सरकारलाई चेतावनी दिँदै वर्तमान नेतृत्व शारीरिक र मानसिक रूपमा जिम्मेवारी वहन गर्न नसक्ने अवस्थामा पुगेको भए सम्मानजनक ढंगले अलग हुनुपर्ने टिप्पणी गरिन्। “काम गर्न नसक्ने हो भने तीर्थयात्रा जानुहोस्, तर शहीद र घाइते परिवारको रगतमाथि खेलवाड नगर्नुहोस्,” उनको कटाक्ष थियो।

उनले शहीद तथा घाइते परिवारलाई पनि सचेत रहन आग्रह गर्दै पटक–पटक धोका खुवाउने गलत निर्णय र गलत बाटोबाट टाढा रहनुपर्ने सुझाव दिइन्। जेनजी आन्दोलन अझै सकिएको छैन, माग पूरा नभएसम्म दबाब जारी रहने संकेत समेत उनले दिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *