काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले अभिभावकीय जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन्।
कांग्रेसले विगतमा आफ्ना आन्तरिक पीडा र घाउ बिर्सिएर राष्ट्रिय जिम्मेवारी निर्वाह गरेको स्मरण गर्दै महामन्त्री थापाले सबै कुरा भुलेर देशलाई हिंसाको चक्रबाट बाहिर निकालिएको उल्लेख गरे। “त्यसपछि चुनाव हारियो, तर त्यतिबेला जित–हारको हिसाब गरिएन, राष्ट्रप्रतिको जिम्मेवारी निभाइयो,” उनले भने।
अहिले पनि कांग्रेसले त्यस्तै भूमिका निर्वाह गर्नुपर्ने समय आएको थापाको भनाइ छ। उनले फागुन २१ गते हुने निर्वाचन वर्तमान व्यवस्था जोगाउन अत्यन्तै महत्वपूर्ण रहेको बताए। पोखरामा आयोजित कार्यक्रममा बोल्दै उनले तोकिएको मितिमा निर्वाचन नभई अर्को बाटो रोजिए देश दुर्घटनातर्फ जाने चेतावनी दिए।
महामन्त्री थापाले बंगलादेश, श्रीलंका, माल्दिभ्स र पाकिस्तानको उदाहरण दिँदै भारतमा निर्वाचन चक्र नटुटेकै कारण लोकतन्त्र अघि बढेको उल्लेख गरे। “हार्नेले जित्नेलाई स्वीकार गर्छ, सत्ता हस्तान्तरण सहज हुन्छ,” उनले भने।
२०६२/०६३ पछि नेपालमा निर्वाचन चक्र नटुटेको उल्लेख गर्दै उनले समयमै चुनाव गराउने मुख्य जिम्मेवारी सरकारको भएको बताए। दलहरूसँग संवाद गर्दै आशंका हटाउने काम पनि सरकारकै दायित्व भएको थापाले स्पष्ट पारे।




