काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रियामा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट दुई जना उम्मेदवार पराजित भएका छन्। उपाध्यक्षका उम्मेदवार गुरु बराल र उपमहासचिवका उम्मेदवार विष्णु रिमाल पराजित भएका हुन्।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी भएका छन्। बरालले १ हजार १३७ मत प्राप्त गरे पनि पराजय भोग्नुपर्यो। उपाध्यक्षमा विजयी विष्ट भने ईश्वर पोखरेल प्यानलका उम्मेदवार हुन्।
त्यस्तै उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन्। ओलीका विश्वासपात्रसमेत मानिएका विष्णु रिमालले १ हजार ९१ मत ल्याए पनि पराजित भए। उनी यसअघि पनि उपमहासचिव पदमै थिए। रिमाल पराजित हुँदा पोखरेल प्यानलबाट योगेश भट्टराई विजयी भएका हुन्।
१९ सदस्यीय पदाधिकारीमध्ये बराल र रिमालबाहेक अन्य सबै पदमा ओली प्यानलले जीत हासिल गरेको छ।




