मुख्य समाचार

माघ ११ को राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान स्थल निर्धारण

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशभरका मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको छ । आयोगका अनुसार सातै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान स्थल रहने गरी व्यवस्था गरिएको छ ।

बुधबार सार्वजनिक गरिएको निर्णयअनुसार प्रत्येक मतदान स्थलमा दुईवटा मतदान केन्द्र रहनेछन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार एक मतदान केन्द्र प्रदेशसभा सदस्यहरूका लागि तोकिएको छ भने अर्को मतदान केन्द्र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुखका लागि छुट्याइएको छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचक मण्डलले मतदान गर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार मतदान प्रक्रिया सहज बनाउन केन्द्रहरू विभाजन गरिएको आयोगले जनाएको छ ।

प्रदेशगत मतदान स्थलको विवरण

कोशी प्रदेशः प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ)

मधेश प्रदेश : महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४ (धनुषा)

बागमती प्रदेश : भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर)

गण्डकी प्रदेश :प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा (कास्की)

लुम्बिनी प्रदेशः कर्मचारी मिलन केन्द्र, घोराही (दाङ)

कर्णाली प्रदेशः प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर (सुर्खेत)

सुदूरपश्चिम प्रदेशः प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी (कैलाली)

आयोगले तोकिएका मतदान स्थल र केन्द्रमा आवश्यक तयारी समयमै पूरा गरी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *