देश

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारलाई आग्रह

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ मा भएका घटनाहरूको छानबिन गर्न गठित आयोगले आफ्नो म्याद एक महिना थप गर्न सरकारसँग आग्रह गरेको छ।

बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै आयोगका पदाधिकारीहरूले म्याद थप गर्न अनुरोध गरेका हुन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठन गरिएको जाँचबुझ आयोगको प्रारम्भिक म्याद तीन महिना तोकिएको थियो। तर म्याद सकिन लाग्दा पनि बयान संकलनको प्रक्रिया अझै जारी भएकाले आयोगले थप समय मागेको हो।

आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम पूरा गर्न थप समय आवश्यक भएको जानकारी दिँदै प्रधानमन्त्रीसमक्ष एक महिना म्याद थप गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्री कार्कीले पनि समय थप गर्ने सहमति जनाएका छन्।

त्यसैगरी, आयोगले अर्को हप्ता पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री तथा अन्य राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरिरहेको जानकारी पनि कार्कीले दिएका छन्।

आयोगले हालसम्म जेनजी घटनासँग सम्बन्धित सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान संकलन गरिसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *