काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व नयाँ वैकल्पिक शक्तिहरूले मिलेर गर्नुपर्ने बर्ताका छन् ।
बनेपामा आज आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा मन्त्री घिसिङले सबै वैकल्पिक शक्ति एकजुट भएर अगाडि बढ्नुपर्ने र त्यसको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नुपर्ने धारणा व्यक्त गरे । उनले चुनौती आए पनि त्यसलाई सामना गरेर मात्र परिवर्तन सम्भव हुने उल्लेख गरे ।
मन्त्री घिसिङले भने , “जेनजी पुस्ताको आन्दोलनपछि सरकार परिवर्तन भएको छ। अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व वैकल्पिक शक्तिहरूले मिलेर गर्नुपर्छ। उज्यालो नेपाल पार्टी त्यसको अगुवाइ गर्छ।”
भेलामा पार्टीका केन्द्रीय सदस्यहरूले पनि आफ्नो विचार व्यक्त गरे। ज्ञानेन्द्र तामाङले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि अनुशासन आवश्यक भएको बताए भने शङ्कर ढकालले पार्टी मध्यमार्गी धाराबाट देशलाई अगाडि बढाउने भूमिका खेल्ने बताए। रिमा विश्वकर्माले दक्ष र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जितराम लामा, ज्योत्सना सैंजु, सुमी लामा लगायतका केन्द्रीय सदस्यहरूले पनि धारणा राखेका थिए। भेलाले क्षितिज लामाको संयोजकत्वमा जिल्ला समिति गठन गरेको छ। साथै युवा हेर्ने समितिको संयोजकमा निशान्त रत्न बास्ताकोटी र सहसंयोजकमा अविरल लामालाई जिम्मेवारी दिएको जानकारी पार्टीका केन्द्रीय सदस्य जितराम लामाले दिए ।




