मुख्य समाचार

ओलीको नेतृत्वमै एकताबद्ध एमाले चाहिन्छ : शेरधन राई

काठमाडौं। नेकपा एमालेका नेता शेरधन राईले पार्टीभित्र सर्वसम्मत नेतृत्व चयनको प्रयास अझै जारी रहेको स्पष्ट पारेका छन्। सचिव पदका उम्मेदवार राईले केपी शर्मा ओलीकै नेतृत्वमा एमाले अघि बढ्नुपर्नेमा जोड दिँदै पार्टीलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान राजनीतिक अवस्थाबाट देशलाई निकास दिन सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गरे। “हाम्रो प्राथमिकता सर्वसम्मत हो। अझै पनि त्यो सम्भावनालाई जीवित राखेर अघि बढिरहेका छौँ,” राईले भने, “केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन गर्दै एमालेमा नयाँ उत्साह र भरोसा पैदा गर्न सकिन्छ।”

उनले सर्वसम्मति सम्भव नभए लोकतान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जानु स्वाभाविक हुने बताए। तर प्रतिस्पर्धा गठबन्धन वा प्यानलको टकरावभन्दा स्वस्थ र मर्यादित हुनुपर्ने उनको धारणा थियो। “लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टी भएकाले प्रक्रिया स्विकार्नुपर्छ,” उनले थपे।

एमालेभित्र प्रतिस्पर्धापछि विभाजन हुने भन्ने आशंका निराधार भएको राईको भनाइ छ। उनले पार्टी अनेक चुनौती पार गर्दै यहाँसम्म आइपुगेको स्मरण गराउँदै ओलीको नेतृत्वमै एमाले अझ बलियो हुने दाबी गरे। “ओलीबिनाको एमाले देख्न चाहनेहरू धेरै छन्, कमजोर एमाले चाहनेहरू पनि छन्,” उनले भने, “तर एमाले केपी ओलीकै नेतृत्वमा शक्तिशाली र प्रभावशाली दलका रूपमा अघि बढ्नेछ।”

पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले नेतृत्व चयनपछि हार–जीतलाई स्वीकार गर्दै निर्वाचित नेतृत्वलाई सहयोग गर्नु पार्टी संस्कारको हिस्सा हुनुपर्ने बताए। प्रतिस्पर्धापछि असन्तुष्टि बोकेर अलग बाटो लाग्नु उचित नहुने उनको भनाइ थियो।

उनका अनुसार, आन्तरिक बहस र प्रतिस्पर्धा एमालेको कमजोरी होइन, शक्ति हो, र यही प्रक्रियाबाट पार्टी अझ परिपक्व र एकताबद्ध बन्दै जानेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *