राजनीति

कर्णालीमा कम्युनिस्ट नेताको आत्मालोचना अभियान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले कर्णाली पुगेर जनतासामु आत्मालोचना गर्दै विगतका कमजोरी स्वीकार गरेका छन्। प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभामा नेताहरूले माफी माग्नुका साथै अब नयाँ ढंगले समाजवादी यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभालाई सम्बोधन गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २३ र २४ को जेन–जी विद्रोहपछि आफूहरू राजनीतिक रूपमा रुपान्तरित भएको दाबी गरे। जेन–जी आन्दोलनले पुराना दल र नेतृत्वलाई कठोर आत्मसमीक्षामा उभ्याएको भन्दै त्यसकै प्रभावमा माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका कम्युनिस्ट घटकहरूबीच एकताको आधार बनेको उनले बताए।

‘जेन–जी युवाले हामीलाई सच्चिने कि सकिने भन्ने चुनौती दिए,’ प्रचण्डले भने, ‘हामीले त्यो चुनौती स्वीकार गर्‍यौँ। त्यसैले अब पुरानै ढर्रामा राजनीति हुँदैन।’ उनले जेन–जीको असन्तुष्टिलाई दबाउने होइन, आत्मसात् गर्दै अघि बढ्ने पहिलो पार्टी आफूहरू भएको दाबी गरे।

नेपाली कम्युनिस्ट पार्टी बनेपछि कर्णालीमा पहिलो पटक संयुक्त रूपमा सन्देश सभा गरिएको हो। माओवादी आन्दोलनको ऐतिहासिक आधार क्षेत्र मानिने कर्णालीमा सभामा नेता, कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिएको थियो। एक सातादेखि सक्रिय स्थानीय संगठनको तयारीका कारण प्रदेशका अधिकांश जिल्लाबाट सहभागिता जुटेको नेताहरूले बताएका छन्।

प्रचण्डले कर्णालीलाई पार्टीको गौरवशाली इतिहास बोकेको प्रदेश भन्दै यहाँबाट नयाँ राजनीतिक अध्याय सुरु हुने दाबी गरे। यद्यपि, कर्णालीकै नाममा सुरु भएको दशक लामो सशस्त्र विद्रोह, त्यसबाट जन्मिएका पीडा र पछिल्ला वर्षमा जनतामा बढेको निराशाको पृष्ठभूमिमा उनका अभिव्यक्तिलाई कतिपयले आत्मरक्षात्मक सन्देशका रूपमा पनि हेरेका छन्।

यसपटक प्रचण्डले माओवादी विचारलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा त्यागेर नयाँ पार्टीको वैचारिक आधार ‘मार्क्सवाद–लेनिनवाद’ बनाइएको स्पष्ट पारे। विगतका गल्तीबाट सिक्दै १६ भन्दा बढी कम्युनिस्ट घटक एकै पार्टीमा समेटिएको दाबी गर्दै उनले यसलाई नेपालको कम्युनिस्ट आन्दोलनकै ऐतिहासिक मोड भने।

सभामा बोल्दै सहसंयोजक माधवकुमार नेपालले सत्ता प्राप्त भए पनि अपेक्षित परिवर्तन दिन नसकिएको स्वीकार गरे। ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य नगरी देश समृद्ध बन्न सक्दैन,’ उनले भने, ‘त्यसैले विगतका कमजोरी स्वीकार गरेर इमानदार राजनीतिक अभ्यासतर्फ फर्किन पार्टी एकता गरिएको हो।’

वरिष्ठ नेता वामदेव गौतमले अझ कडा आत्मालोचना गरे। पटक–पटक सत्तामा पुग्दा पनि समाजवाद निर्माण गर्न नसकेको स्वीकार गर्दै उनले जनतासँग प्रत्यक्ष माफी माग्नुपर्ने बताए। ‘हामीले भनेअनुसार काम गर्न सकेनौँ,’ गौतमले भने, ‘यसको जिम्मेवारी लिन तयार छौँ।’

नेता नारायणकाजी श्रेष्ठले जेन–जी विद्रोह सुशासनप्रतिको राज्यको असफलताको परिणाम भएको टिप्पणी गरे। पार्टीलाई समेत परिवर्तन नगरी अघि बढ्न नसकिने भन्दै उनले आत्मालोचनालाई निरन्तर प्रक्रियाको रूपमा लिनुपर्ने बताए।

यद्यपि, सभामा सबै नेताहरूको स्वर एउटै रहेन। नेता भीम रावलले पुरानै राष्ट्रवादी मुद्दा दोहोर्‍याउँदै अन्तरिम सरकार, विदेशी प्रभाव र अपर कर्णाली जलविद्युत् आयोजनाबारे कडा आलोचना गरे। उनले एमाले नेतृत्वमाथि पनि आक्रामक टिप्पणी गर्दै जेन–जी आन्दोलन दमन गरिएको आरोप लगाए।

कर्णाली सन्देश सभाको अर्को पृष्ठभूमि माओवादी नेता जनार्दन शर्माको पार्टी परित्याग पनि थियो। शर्माको बलियो प्रभाव रहेको क्षेत्रमा उनीबिनाको नेकपालाई शक्तिशाली देखाउने प्रयास नेतृत्वका लागि प्रतिष्ठाको विषय बनेको देखिन्थ्यो। तर सभामा शीर्ष नेताहरूले शर्माबारे प्रत्यक्ष टिप्पणी गर्न चाहेनन्।

सभाको समग्र सन्देश भने स्पष्ट थियो—विगतका गल्ती स्वीकार गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्ने र समाजवादलाई पुनः राजनीतिक केन्द्रमा राख्ने। तर यो आत्मालोचना कागजी प्रतिबद्धतामा सीमित रहन्छ कि व्यवहारमा रुपान्तरित हुन्छ भन्ने प्रश्न कर्णालीका जनताले अझै खुलै राखेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *