काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई नेपाल) ले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भएपछि उनी जोडिएका केही विवादले संस्थाको मूल्य–मान्यता र विश्वसनीयतामा प्रश्न उठ्न थालेपछि यस्तो निर्णय लिनुपरेको टीआई नेपालले जनाएको छ।
टीआई नेपालका कार्यसमितिका एक सदस्यका अनुसार, विवाद सुरु भएयता बराललाई संस्थाबाट राजीनामा दिएर विषयलाई सहज बनाउने सुझाव पटक–पटक दिइएको थियो। तर उनले त्यसलाई स्वीकार नगरेपछि कार्यसमितिले अस्थायी निलम्बनको विकल्प रोजेको हो। “संस्थाका आफ्नै सिद्धान्त र प्रतिबद्धता छन्। तीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि मौन बस्न सकिँदैन,” ती सदस्यले भने।
टीआई नेपालले सार्वजनिक पदमा रहेका व्यक्तिको भूमिकासँग जोडिएका निर्णयहरू नै विवादमा परेपछि निष्पक्षताको प्रश्न गम्भीर बनेको निष्कर्ष निकालेको छ। यद्यपि, विवादित विषय स्पष्ट रूपमा समाधान भएमा निलम्बनको निर्णय पुनः विचार हुन सक्ने संकेत पनि संस्थाले दिएको छ।
विश्वभर भ्रष्टाचारविरुद्ध अनुगमन र पैरवी गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल सक्रिय छ। बरिष्ठ अधिवक्ता समेत रहेकी बराल यस संस्थामा साधारण सदस्यका रूपमा आवद्ध थिइन् र यसअघि विभिन्न कार्यकालमा कार्यसमिति सदस्यसमेत निर्वाचित भइसकेकी छन्।
यस घटनालाई सार्वजनिक पद र नागरिक समाजबीचको आचारसंहिता तथा नैतिक सीमारेखाको सन्दर्भमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।




