काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालेले सर्वसम्मत विधि, प्रक्रियाबाट सक्षम र नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापक्ष बनाउन योग्य नेतृत्व चयन हुने बताएका हुन् ।
उनले प्रमुख राजनीतिक दलहरू कमजोर भएको अवस्थामा मुलुकमा निरङ्कुशता हाबी भएको स्मरण गर्दै राजनीतिक दलहरू मजबुत हुनुपर्नेमा जोड दिए । बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू सङ्गठित, व्यवस्थित र जनप्रिय हुनुपर्ने उनको भनाई छ । उनले एमाले महाधिवेशनले वर्तमान परिस्थितलाई सही ढङ्गले विश्लेषण गर्दै आगामी बाटो तय गर्न अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने वातावरण बनाउने पनि विश्वास गरे ।
उनले भने ‘जब मुलुकमा मुख्य दलहरू कमजोर वा विभाजित हुन्छन्, तब मुलुकमा निरङ्कुशता हाबी भएको छ । अराजकता मौलाएको छ । पार्टी फुट्दा र जुट्दाको दुवै अनुभव हामीले पनि व्योहोरेका छौँ । बहुदलीय व्यवस्थामा दलहरू सुसंगठित र व्यवस्थित हुनको साथै जनप्रिय हुन पनि उत्तिकै जरुरी छ । यस महाधिवेशनको माध्यमले नेकपा एमालेले आफूलाई अझ परिष्कृत र व्यवस्थित गर्दै समयसापेक्ष दल बनाउन, अझ सुदृढ बनाउन सर्वसम्मत विधि प्रक्रियाबाट सक्षम र योग्य नेतृत्व चयन गर्ने विश्वास हामीले लिएका छौँ । नेकपा एमालेले विधि, विधान र विवेकपूर्ण ढङ्गबाट निर्वाचित गर्ने सक्षम र सबल नेतृत्वले वर्तमान राष्ट्रिय राजनीतिलाई सही ढङ्गबाट विश्लेषण गर्दै नेपालको सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्न संविधान निर्माण गर्न सहकार्य गरेका दलहरूसहित अन्य दलहरू र जेनजी पुस्ताका युवा पुस्ताहरूलाई समेत जोडेर सबै दलहरूसँग थप साझेदारी कायम गरी वर्तमान राजनीति चुनौतीलाई सामना गर्ने आधार निर्माण गर्नुहुनेछ भन्ने नेपाली काँग्रेस पार्टीको तर्फबाट पूर्ण विश्वास दिँदै यस महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।’
उनले भदौ २३ र २४ को जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेलेको पनि बताए । नेपालमा ऐतिहासिक सम्पत्ति, विभिन्न राजनीतिक दलका कार्यलयहरु जलाइएको उल्लेख गर्दै उहाँले ती आपराधिक क्रियाकलाप गर्नेहरूलाई समयले माफ नगर्ने पनि बताए ।




