काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको वर्तमान सरकारलाई पुनः असंवैधानिक भन्दै आलोचना गरेका छन्।
विहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले असंवैधानिक सरकारसँग जेनजी समूहले गरेको सम्झौताबारे आफ्नो पार्टीले प्रतिक्रिया दिनुपर्ने आवश्यकता नै नभएको टिप्पणी गरे। राष्ट्रपतिले कार्की सरकारलाई फागुन २१ गते निर्वाचन गराउने कार्यादेश दिएकाले त्यसको दायराभन्दा बाहिर कुनै पनि राजनीतिक चलखेल स्वीकार्य नहुने चेतावनी समेत उनले दिए।
अध्यक्ष ओलीले हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटबारे पनि प्रतिक्रिया दिँदै छलफल देशको राजनीतिक समस्यासँग सम्बन्धित रहेको र यसको परिणाम “छिट्टै देखिन थाल्ने” दाबी गरे। देउवासँगको भेटप्रति आएको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै उनले प्रमुख दलका नेतृत्वबीच देशका विषयमा संवाद हुनु स्वाभाविक हुने बताए।
उनका अनुसार, “अर्थपूर्ण छलफल भएको छ, त्यसको अर्थ छ। भोलिदेखि देखिन थाल्छ, प्रकट हुन समय लाग्छ।”




