काठमाडौँ। काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा यात्रु झोला तान्ने, धरपकड गर्ने र विभिन्न प्रकारले हैरानी पुर्याउने गतिविधि बढेपछि प्रहरीले व्यापक निगरानी गर्दै ४६ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा नयाँ बसपार्क प्रहरी प्रभागको संयुक्त टोलीले बुधबार साँझ गोँगबु क्षेत्रमा शङ्कास्पद रूपमा यात्रुलाई दुःख दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलका केही कर्मचारीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार देशका विभिन्न भागबाट राजधानी आउने यात्रुहरूको झोला जबर्जस्ती तान्ने, होटलमा जबरजस्ती लैजाने जस्ता क्रियाकलापमा संलग्नहरूलाई पक्राउ गरिएको हो।
एसपी भट्टराईले सुरुमै सम्झाइबुझाइ गरेर छाडिएका केही व्यक्तिले गतिविधि दोहोर्याएपछि कडाइका साथ धरपकड गरिएको बताए। “यस्ता काम दोहोरिएमा कडा कानुनी कारबाही अघि बढाइनेछ,” उहाँले चेतावनी दिए।
प्रहरीले नयाँ बसपार्क क्षेत्रमा यात्रुको सुरक्षाका लागि विशेष अभियानलाई निरन्तरता दिने जनाएको छ।




