देश

प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी, १० हाइप्रोफाइललाई धम्की दिने युवकको खोजी

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाइललाई धम्की दिने युवक प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ।

पाठकले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्की दिएका थिए। काभ्रे घर भएका पाठकको विरुद्ध प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएको हो।

स्रोतका अनुसार, भारत हुँदै इन्डोनेसिया पुगेका पाठक अहिले फिलिपिन्समा लुकेर बसेको आशंका गरिएको छ। उनले आफूलाई उग्रवादी संगठनको अध्यक्ष बताउँदै १० जना हाइप्रोफाइल व्यक्तिहरूलाई ‘सफाया’ गर्ने धम्की दिएका थिए। ती व्यक्तिहरूमा राईसहित लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईँ रहेका छन्।

प्रकाश पाठकसँग सम्बन्धित तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका शरणजंग शाही (धादिङ), तोरण थापा मगर (सर्लाही) र धिरेन्द्र सुनार (बर्दिया)लाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ।

धम्की दिइएका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गर्न उपत्यका प्रहरी कार्यालयले मङ्सिर १७ मा सर्कुलर जारी गर्दै उनीहरूको निवास वरपर निगरानी बढाएको थियो। यस घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेका छन्।

डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आबद्ध प्रहरी संगठनहरूले आपसमा सहकार्य गर्दै पाठकको लोकेशन पत्ता लगाउने प्रयास जारी राखेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *