काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत एलिमिनेटर खेलमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो यात्रा अगाडि बढाएको छ। बुधबार सम्पन्न खेलमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।
काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। अब लुम्बिनी फाइनल प्रवेशका लागि बिहीबार विराटनगर किंग्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। विराटनगर भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग पराजित भएको थियो।
लिग चरणमा तेस्रो स्थानमा रहेको काठमान्डु एलिमिनेटरमै हार बेहोरेसँगै प्रतियोगिताबाट बाहिरिएको छ। लुम्बिनीका लागि ओपनर डार्शी सर्टले ३४ बलमा ३३ रनको उपयोगी योगदान दिए। सन्दीप जोराले २३ बलमा २३ रन जोडे भने कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए। निरोशन डिकवेलाले १४ रनको योगदान दिए।
बलिङतर्फ काठमान्डुका सन्तोष यादवले दुई विकेट लिए भने कप्तान करण केसीसहित चार खेलाडीले एक–एक विकेट हात पारे।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.१ ओभरमा १११ रनमै समेटिएको थियो। आठौं क्रममा आएका सन्तोष यादवले २३ रन बनाए भने जोन सिम्पसन र आदिल आलमले समान १८ रनको योगदान दिए। भीम शार्कीले १४ रन जोडे।
लुम्बिनीका बलरहरूले सुरुआतदेखि नै दबाब बनाए। रुबेन ट्रम्पलम्यान र शेर मल्लको प्रभावकारी बलिङका कारण काठमान्डुले १४ रनमा चार विकेट गुमायो। समग्रमा शेर मल्ल र कप्तान रोहित पौडेलले ३–३ विकेट लिए। ट्रम्पलम्यानले २ विकेट हात पार्दा अभिशेष गौतमले एक विकेट लिए।
महत्वपूर्ण जितसँगै लुम्बिनीले फाइनलको ढोका खुला राखेको छ भने काठमान्डुको यात्रा एलिमिनेटरमै समाप्त भएको छ।




