राजनीति

ईश्वर पोखरेलको प्रश्नः पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता किन नदिने ?

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिन कुनै पनि आधारमा रोक्न नहुने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले संविधान, पार्टीको विधान तथा अन्तर्राष्ट्रिय अभ्यासले समेत पूर्वराष्ट्रपतिलाई पार्टी सदस्यता लिनबाट नरोकेको उल्लेख गर्दै, व्यक्तिको इच्छा भए सदस्यता पाउने अधिकार स्वाभाविक भएको बताए।

उनले विद्या भण्डारीको सदस्यताको विषयलाई अनावश्यक रूपमा ठूलो एजेन्डा बनाइएकोप्रति असन्तुष्टि जनाउँदै भने, “यो विषय यत्रो ठूलो बहसको विषय नै होइन। संविधानले रोकेको छैन, विधानले रोकेको छैन, अन्तर्राष्ट्रिय अभ्यासले पनि रोकेको छैन भने किन सदस्यता नपाउने?”

पोखरेलले पार्टीभित्र यो विषयमा आफूहरूले पहिलेदेखि नै स्पष्ट धारणा राख्दै आएको बताउँदै केन्द्रले निर्णय गरे पनि यसलाई अस्वाभाविक रूपमा उठाइएको बताए।

यसै सन्दर्भमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे आफूले पहिलेदेखि नै प्रश्न उठाउँदै आएको समेत स्वीकार गरे। पार्टीभित्र जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तमा मतभिन्नता नरहे पनि नेतृत्वको कार्यशैलीमा भने व्यापक मतभिन्नता रहेको उनको भनाइ थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *