ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छिन् ।
सतहत्तर औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज आयोजित समारोहलाई सम्बोधन गदै उनले भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभई विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर विषय पनि हो भनिन् ।
उनले भनिन्, “जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ, यसैले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनबद्धता व्यक्त गरेको छ । पारदर्शिता र जबाफदेहिताको वातावरणबिना मानवअधिकार सुरक्षित रहन सक्दैन ।” लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन हो भदै प्रधानमन्त्री कार्कीले नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो भनिन् ।
उनले भनिन्, “आगामी प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ, समयमै निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न सरकार अपिल गर्दछ, साथै निर्वाचनमा खटिने सुरक्षा निकाय कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले मिलाउनेछ । सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै सबै राजनीतिक दललाई निर्बाध रूपमा भाग लिन र निर्वाचनजस्तो यस लोकतान्त्रिक अनुष्ठानलाई सफल पारी मानवअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नसमेत अनुरोध गर्दछु ।”
प्रधानमन्त्री कार्कीले नेपालको शान्ति प्रक्रियाले विश्वलाई प्रेरणा दिएको छ जनाउँदै सङ्क्रमणकालीन न्यायका बाँकी काम टुंगिन ढिलो भइरहेका छन् भन्ने कुरा सरकारको जानकारीमा छ भनेकी छिन् । प्रधानमन्त्री कार्कीले “पीडितलाई न्यायको अनुभूति नदिलाएसम्म सङ्क्रमणकालीन न्याय पूर्ण हुँदैन, हालै परिमार्जित कानुन र सहमतिहरूको आधारमा यस प्रक्रियालाई पीडित मैत्री र विश्वसनीय निष्कर्षमा पुर्याउन सम्बन्धित संयन्त्रहरू सफल हुनेछन् भन्ने विश्वास सरकारको रहेको छ । ”
उनले राष्ट्रिय मानवअधिकार आयोग लोकतन्त्रको पहरेदार संस्था भएकाले यसको स्वायत्तता, स्वतन्त्रता र प्रभावकारितालाई सरकारले उच्च प्राथमिकताका साथ संरक्षण गर्दै आएको जनाउँदै आयोगका सिफारिसहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले आयोगलाई ‘क’ श्रेणीमा कायम राख्न संस्थागत तथा भौतिक पूर्वाधार, जनशक्ति र बजेट व्यवस्थापनलाई अझ सुदृढ बनाइनेछ भनिन्। “मानवअधिकारको संरक्षणमा जलवायु परिवर्तन आजको अर्को चुनौतीका रूपमा देखा परेको छ । नेपाल न्यूनतम कार्बन उत्सर्जन गर्ने राष्ट्र हुँदाहुँदै पनि जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू सबैभन्दा बढी हामीले नै भोग्नुपरेको छ । हिमाल पग्लिनु, अनिश्चित मौसम चक्र, बाढी–पहिरो, तापक्रम वृद्धिजस्ता जलवायुजन्य असरले हाम्रो जीवनका हरेक आयाम–खाद्य सुरक्षा, स्वास्थ्य, बसोबास, शिक्षा–आदिलाई प्रत्यक्ष प्रभावित बनाइरहेका छन् ।” उनले भनिन् ।
प्रधानमन्त्रीले जलवायु परिवर्तन कुनै वातावरणीय मुद्दा मात्र होइनस् यो मानव अस्तित्व र अधिकारसँग प्रत्यक्ष सम्बन्धित विषय हो भन्दै सरकार अनुकूलन, जोखिम न्यूनीकरण, दिगो विकास र जलवायु न्यायका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीलाई मजबुत बनाउँदै सक्रिय रूपमा अघि बढिरहेको छ भनिन् ।
“दिगो विकास लक्ष्यको मूल भावनासहित गरिबी न्यूनीकरण, लैङ्गिक समानता, सामाजिक न्याय, समावेशिता, शान्ति र समृद्धिको दिशामा सरकार निरन्तर अग्रसर छ, नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय मानवअधिकार महासन्धिअन्तर्गतका दायित्वहरू समयमै पूरा गर्नैपर्छ र सन्धि जनित समितिबाट प्राप्त सुझाव तथा सिफारिसहरूको कार्यान्वयनमा सरकार निरन्तर सक्रिय रहनेछ, मानवअधिकार रक्षकहरूको सुरक्षा र पहिचानका लागि आवश्यक कानुन निर्माण, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने प्रयास र छैटौँ राष्ट्रिय मानवअधिकार कार्य योजनाको निर्माण गरी कार्यान्वयन सरकारका प्राथमिकतामा छन् ।” उनले भनिन् ।
मानवअधिकार केवल कानुनी प्रावधान होइन, यो हाम्रो सामाजिक चरित्र बन्नुपर्छ भदै उनले हामी सबै मिलेर मानवअधिकारलाई दैनिक जीवनको संस्कृतिमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल हुन सक्दछ भनिन् ।
उनले अब मानवअधिकार भनेको केवल जीवित रहनु मात्र होइन भन्दै आत्मसम्मानका साथ बाँच्न पाउनु, राज्यका निर्णयमा प्रश्न गर्न पाउनु, स्वच्छ वातावरणमा रमाउने अवसर पाउनु, र डिजिटल विश्वसँग समान र स्वच्छ पहुँच पाउनु पनि मानवअधिकार हो भनिन् ।
उनले भनिन्, “मानवअधिकारको प्रारम्भिक अवधारणाले मुख्यतः बाँच्न पाउने अधिकार र स्वतन्त्रतालाई जोड दिन्थ्यो, तर आजको २१औँ शताब्दीमा मानवअधिकारको दायरा अत्यन्त फराकिलो बनेको छ, विशेष गरी हाम्रो नयाँ पुस्ता जेन जेडले मानवअधिकारलाई कानुनी ग्रन्थमा सीमित नराखेर व्यवहारिक नतिजासँग जोडेर हेर्ने गरेको छ । सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण हो, र म यसलाई सम्मान गर्दछु, सरकार युवाहरूको डिजिटल अधिकार, गोपनीयताको अधिकार, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माण र कार्यान्वयनमा समाहित गर्न दृढताका साथ अघि बढ्नेछ ।”
सन् १९४८ डिसेम्बर १० मा जारी भएको घोषणापत्रले अंगीकार गरेका यी मूल्य र मान्यताहरूले आज मानव सभ्यतालाई मानव-मूलक बनाउने आधार तयार पारेको स्मरण गदै प्रधानमन्त्री कार्कीले दिवसको अवसरमा स्वदेश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सरकारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु भनिन् ।
संयुक्त राष्ट्र संघले ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका लागि ‘मानवअधिकार, हामी सबैको अपरिहार्य आधार’ भन्ने नारा तय गरेको छ ।




