देश

पूर्वमन्त्री खड्काको निवासमा आक्रमण प्रकरण : तीन अभियुक्तमाथि साढे ७ करोड क्षतिको दाबी

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पूर्व ऊर्जा मन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काको बूढानीलकण्ठस्थित घरमा भएको तोडफोड र आगजनी प्रकरणमा संलग्न आरोपमा पक्राउ परेका तीनजनामाथि साढे ७ करोड रुपैयाँ बराबरको मुद्दा दायर गरिएको छ।

गत भदौ २३ र २४ गतेको भीड नियन्त्रणका क्रममा हिंसा चर्किएपछि खड्काको घर र सवारीसाधनमा ठूलो क्षति भएको थियो। घटनापछि महाराजगञ्ज प्रहरी वृत्तले रणबहादुर सिंह (४४), सुसम श्रेष्ठ (३१) र रेखा सुनार ‘सानी’ (३९) लाई पक्राउ गरी विस्तृत अनुसन्धान थालिएको थियो।

सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनका आधारमा ‘आपराधिक उपद्रव’ तथा ‘डाँकासम्बन्धी’ अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले रणबहादुर सिंह र सुसम श्रेष्ठलाई पुर्पक्षका लागि जेल पठाउने आदेश जारी गरेको छ। आरोपित रेखा सुनारलाई भने २५ हजार रुपैयाँ धरौटी बुझाई रिहा गर्ने निर्णय गरिएको छ। पीडितको तर्फबाट दीपक खड्काका दाजु जीवन खड्काले दिएको जाहेरीमा घरमा भएको क्षति र हराएका सामानहरूको विस्तृत विवरण समावेश छ।

उनका अनुसार— बूढानीलकण्ठ–१ को कित्ता नं. ५४ मा रहेको साढे दुई तले घरमा आगजनी र तोडफोड, निजी गाडी बा २४ च ५०७० र बा.प्र.–०१–०२९ च ३३०४ ध्वस्त,सरकारी गाडी बा १ झ ८८८१ र बा १ झ ४९२८ जलाइएका करिब ६ तोला सुनको रानिहार, चुरा, डायमण्ड–मोतीका हार सेट, ६ तोला औँठी ६ थान, मुगाका टप–औँठी सेट, सुनको तिलहरी र बच्चाको पाँच तोला सिक्री चोरी,नगद ५ लाख, ७ सय अमेरिकी डलर, ल्यापटप, कम्प्युटर, ब्यागलगायत बहुमूल्य सामग्री हराएको उल्लेख छ। यी सबै मिलाएर कुल क्षति साढे ७ करोड रुपैयाँ पुगेको दाबी गरिएको छ।

प्रहरीका अनुसार—रणबहादुर सिंह—११ वर्ष नेपाली सेनामा सेवामुक्त, हाल बूढानीलकण्ठमा बसोबास गर्दै आएका सुसम श्रेष्ठ—बूढानीलकण्ठमै रेष्टुरेन्ट व्यवसाय, रेखा सुनार—व्यावसायिक रूपमा ज्यालामजदुरी गर्दै आएकी उनको मुद्धा अब अदालतमा अगाडि बढ्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *