काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि दर्ता गरिएको अदालतको अवहेलना सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले उक्त मुद्दामा मागदाबी पुग्न नसक्ने ठहर गर्दै घिमिरेलाई दोषमुक्त गरेको हो।
तत्कालीन उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले पूर्व बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए। न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा प्रधानन्यायाधीश तथा अदालतको जनआस्थामा असर पर्ने गरी सार्वजनिक टिप्पणी गरिएको भन्दै उनले कारबाहीको माग गरेका थिए।
त्यतिबेला न्याय परिषद्ले समेत घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो। परिषद्को विज्ञप्तिमा अदालत, न्याय परिषद् र प्रधानन्यायाधीशविरुद्ध कुल मनसायका आधारमा सर्वसाधारणलाई भ्रममा पार्ने किसिमले टिप्पणी गरिएको उल्लेख गरिएको थियो।
उमेर हदका कारण अवकाश लिन लागेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ सम्मिलित परिषद्ले सर्वोच्च अदालतमा दुई जना मात्र न्यायाधीश सिफारिस गरेपछि त्यसप्रति असन्तुष्टि जनाउँदै घिमिरेले सार्वजनिक कार्यक्रममा कडा अभिव्यक्ति दिएका थिए।
यसैबीच नेपाल बारले मुख्य रजिस्ट्रारलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्दा तय गरिएको वरियता सम्बन्धी नियमावली खारेज गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ। नियमावली संशोधन नभएसम्म न्यायाधीश नियुक्ति स्वीकार्य नहुने बारको अडान छ।
बारको विरोधकै बीच असोज ११ गते सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिको सिफारिस भएपछि घिमिरेले सो निर्णयलाई गैरसंवैधानिक ठहर गर्दै सञ्चार माध्यममार्फत तीव्र प्रतिक्रिया दिएका थिए। उनले प्रधानन्यायाधीशसमेत संविधानविपरीत निर्णयमा संलग्न भएको आरोप लगाएका थिए।
तर सर्वोच्च अदालतले ती आरोपका आधारमा अवहेलना ठहर गर्न नसकिने निष्कर्ष निकाल्दै घिमिरेलाई सफाइ दिएको हो।




