काठमाडौं। निर्वाचन आयोगमा दल दर्ता गरेपछि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा आयोजना गरेको छ।
सिफल चौरमा सम्पन्न यस कार्यक्रमलाई ‘संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको थियो। सभामा पार्टी अध्यक्ष साम्पाङसहितका नेता–कार्यकर्ताहरूको ठूलो सहभागिता थियो। साम्पाङले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
सभामा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेका थिए भने पार्टीको चुनाव चिह्न दुई हातको अँजुलीमा लिएको माटो भएको प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
कार्यक्रममा राजधानीका विभिन्न क्षेत्रबाट आएका कार्यकर्ता र स्थानीय नेताहरूको उत्साहजनक उपस्थितिले सभा रंगीन बनेको थियो। पार्टीले आगामी दिनहरूमा सदस्यता वृद्धि र संगठन विस्तार अभियानलाई तीव्रता दिने योजना बनाएको छ।




