देश

गोवाको अरपोरा नाइट क्लबमा भीषण आगलागी, चार नेपालीसहित २५ जनाको मृत्यु

काठमाडौं । भारतको गोवा राज्यअन्तर्गत अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यराति भएको भीषण आगलागीमा चार जना नेपाली नागरिकसहित २५ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

गोवा सरकारले सार्वजनिक गरेको विवरणअनुसार आगलागीमा ज्यान गुमाउनेमध्ये २० जना क्लबमा कार्यरत कर्मचारी थिए । तीमध्ये चार जना नेपालका नागरिक रहेको पुष्टि भएको छ । मृत्यु हुने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेका छन् । उनीहरूको स्थायी ठेगाना भने खुल्न बाँकी छ । गोवा सरकारले मृतक नेपालीको शव नेपाल पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार क्लबमा नाचगान चलिरहेको बेला इलेक्ट्रोनिक फायरक्र्याकर बाल्दा आगो सुरु भएको हो । क्लब रहेको स्थान साँघुरो भएकाले दमकल समयमा पुग्न नसक्दा आगो झनै भयावह बनेको अधिकारीहरूले बताएका छन् । धेरैजसो व्यक्तिहरू भुइँतलामा र भान्सातिर थुनिँदा ज्यान गएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । केहीको जलेर र केहीको धुँवामा निसास्सिएर मृत्यु भएको बताइएको छ ।

अनुसन्धानले क्लबले आवश्यक सुरक्षा मापदण्ड पालना नगरेको र अनुमति बिना सञ्चालन भइरहेको देखिएको छ । गोवा प्रहरीले क्लबका महाप्रबन्धक र कर्मचारीसहित चार जनालाई पक्राउ गरेको छ भने मालिक सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । नियमविपरीत क्लब सञ्चालनको अनुमति दिएको आरोपमा गोवा सरकारका तीन वरिष्ठ अधिकारीलाई निलम्बन गरिएको छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई प्रतिपरिवार पाँच लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन् । साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानहरूको अडिट गरिने पनि जनाएका छन् ।

प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो सुरु भएको केही मिनेटमै पूरै संरचना जलेर नष्ट भएको थियो । आगलागीका क्रममा ग्यास सिलिण्डर विस्फोट भएपछि क्षति अझै ठूलो बनेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *