काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०८२–८३ मा लुम्बिनी लायन्सले पहिलोपटक प्लेअफ प्रवेश गरेपछि चार टोलीको प्लेअफ तालिका पूरा भएको छ। शुक्रवार भएको खेलमा लुम्बिनीले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान बनाएको हो।
यस जितसँगै प्लेअफमा प्रवेश गर्ने टोलीहरू सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्स पक्का भएका छन्। यसैबीच, पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्सको प्लेअफमा स्थान बनाउने संभावना समाप्त भएको छ। कर्णाली याक्स भने पहिले नै प्लेअफ होडबाट बाहिरिसकेको थियो।
लुम्बिनीले लक्ष्य १३३ रन १९.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। कप्तान रोहित पौडेलले ३४ रन बनाए भने डार्शी सर्टले ३०, जेजे स्मिथले २१ र निरोशन डिकवेलाले १७ रन योगदान गरे। ओपनर सुमित महर्जन पहिलो बलमै आउट भए तापनि रोहित र सर्टले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले।
जनकपुरका लागि संगीथ कुरेले ३ विकेट लिए भने मयन यादवले २ विकेट लिए। पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा १३२ रन मात्र बनायो, जसमा संगीथ कुरे ४५ र मयन यादव २७ रनमा अविजित रहे।
प्लेअफमा सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर खेल्नेछ भने लुम्बिनी लायन्स एलिमिनेटरमा प्रवेश गर्नेछ। शनिबार सुदूरपश्चिम र विराटनगरबीच हुने खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।




