काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनबाट आइतबारदेखि ६ वटा इजलास सञ्चालनमा आउने भएको छ। भदौ २४ मा भएको जेनजी आन्दोलनको आगजनीपछि अदालतमा सीमित इजलासमा मात्र मुद्दाको सुनुवाइ भइरहेको थियो।
अदालतले अब ११ वटा इजलास गठन गर्ने योजना बनाएको छ। एनेक्स भवनबाट ५ वटा इजलास सञ्चालन भइरहेका छन् भने नयाँ भवनबाट ६ वटा थप इजलास सञ्चालनमा आउने प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
कोइरालाका अनुसार, “नयाँ भवनको निर्माण कार्य पूर्ण रूपमा सकिएको छैन, तर अस्थायी रूपमा ६ वटा इजलास सञ्चालन गर्न फर्निसिङ, टेबल, कुर्सी र इन्टरनेट जडानको काम पूरा भइसकेको छ। बिस्तारै थप फाँटहरूमा पनि इजलास विस्तार गरिनेछ।” भवन निर्माण कम्पनीलाई ठेक्का म्याद चैतसम्म भए पनि इजलास सञ्चालन गर्न आवश्यक काम तुरुन्त सम्पन्न गर्न निर्देशन दिइएको थियो।
हाल सर्वोच्च अदालतमा २१ जना न्यायाधीश छन्, तर जेनजी आन्दोलनबाट क्षति पुगेका कारण अदालत पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र हाल ५० प्रतिशत मात्र कार्यसम्पादन भइरहेको छ।




