काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८१र८२ सम्म विभिन्न १५९ सार्वजनिक संस्थान तथा निकायमा ९ खर्ब ३० अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन’ले यो तथ्याङ्क देखाएको हो।
प्रतिवेदन अनुसार सरकारको कुल सेयर लगानी ११६ संस्थानमा ४ खर्ब ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। सबैभन्दा बढी सेयर लगानी भएका संस्थानमा नेपाल विद्युत् प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक रहेका छन्।
त्यस्तै, कुल ऋण लगानी ५ खर्ब २६ अर्ब ६३ लाख रुपैयाँ पुगेको छ। यसमा आन्तरिक स्रोतबाट १ खर्ब ५८ अर्ब १८ करोड र वैदेशिक स्रोतबाट ३ खर्ब ६७ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। बढी ऋण लगानी भएका निकायमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल खानेपानी संस्थान रहेका छन्।
गत आर्थिक वर्षमा सरकारले सावाँ फिर्ता र ब्याजबाट ८ अर्ब ९१ करोड रुपैयाँ प्राप्त गरेको छ। यसै अवधिमा सेयरमा ५ अर्ब ५२ करोड र ऋणमा ३५ अर्ब ९५ करोड रुपैयाँ लगानी भएको छ।
तर, ठूलो लगानी भए पनि प्रतिफल कमजोर देखिएको छ। समयमै साँवाब्याज भुक्तानी नहुँदा निकायहरूको दायित्व बढ्दै गएको प्रतिवेदनले जनाएको छ। आर्थिक वर्ष २०८१र८२ सम्ममा भाका नाघेको रकम ४ खर्ब ८ करोड रुपैयाँ पुगिसकेको छ। भाका नाघेको साँवा र ब्याज बढी भएका संस्थानमा नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, नेपाल खानेपानी संस्थान र नेपाल नागरिक उड्डयन प्राधिकरण रहेका छन्।
प्रतिवेदनले सरकारी लगानीको व्यवस्थापन सुधार गर्नु आवश्यक रहेको र निकायहरूलाई समयमै भुक्तानी सुनिश्चित गर्नुपर्ने औँल्याएको छ।




