काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापनलाई कृषि क्षेत्रको मूल आधार मानी उच्च प्राथमिकतामा राखेको बताएका छन्। १२औं विश्व माटो दिवसका अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले माटो परीक्षणदेखि सन्तुलित मल प्रयोगसम्मका गतिविधि योजनाबद्ध रूपमा अघि बढाइरहेको जानकारी दिए।
उनका अनुसार कृषि विभाग अन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाले किसानलाई माटो तथा मल परीक्षण सेवा नियमित रूपमा दिँदै आएको छ। साथै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, प्रदेश सरकार मातहतका प्रयोगशाला र सम्बन्धित निकायहरूबीचको समन्वयमा देशभर माटो परीक्षण कार्य तीव्र बनाइँदै छ।
मन्त्री परियारले परीक्षणका आधारमा तयार गरिने डिजिटल माटो नक्शा अद्यावधिक गर्ने प्रक्रिया जारी रहेको उल्लेख गर्दै, यसले किसानलाई आफ्नो जमिनमा आवश्यक पोषक तत्त्वबारे स्पष्ट जानकारी प्राप्त हुने र सोअनुरूप सन्तुलित मल प्रयोग गर्न सहजता पैदा हुने बताए।
‘माटो परीक्षण र मल व्यवस्थापनबारे किसान तथा प्राविधिकको क्षमता विकास सरकारले निरन्तर गर्दै आएको छ,’ मन्त्री परियारले भने, ‘रासायनिक तथा प्राङ्गारिक मल दुवैको व्यवस्थापनलाई दीर्घकालीन योजनासहित अगाडि बढाइनेछ।’
उनका अनुसार वैज्ञानिक रूपमा माटो व्यवस्थापन गर्दै कृषि उत्पादनशीलता बढाउनु सरकारको प्रमुख लक्ष्यका रूपमा अघि रहेको छ।




