देश

यूएन मिसनको फोर्स कमाण्डरमा नेपाली रथी श्रेष्ठ, आठौँ नेपाली अफिसरको गौरवपूर्ण जिम्मेवारी

काठमाडौं । नेपाली सेनाका बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको अबेईस्थित अन्तरिम सुरक्षा बलका फोर्स कमाण्डरमा नियुक्त भएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवले समृद्ध श्रेष्ठलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो महत्वपूर्ण जिम्मेवारीका लागि चयन गरेका हुन्।

घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल समाप्त भएपछि श्रेष्ठ फोर्स कमाण्डरका रूपमा नियुक्त भएको यूएनले जनसम्पर्कमार्फत सार्वजनिक गरेको हो। सैनिक मुख्यालयका प्रवक्ता राजाराम बस्नेतका अनुसार, औपचारिक पत्र नेपालमा आइपुग्ने प्रक्रिया बाँकी छ।

३६ वर्षे सैन्य करियरमा श्रेष्ठले धेरै महत्वपूर्ण पद सम्हालेका छन्। दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघकै मिसन अन्तर्गत पूर्वी क्षेत्रीय कमाण्डरको रूपमा नेतृत्व सम्हालिसकेको अनुभवले पनि उनी अन्तर्राष्ट्रिय फोर्स कमाण्डको लागि योग्य ठहरिएका हुन्।

श्रेष्ठ सुदूरपश्चिम पृतनाका पूर्व पृतनापति, सम्हार रथी विभागका प्रमुख, वीरेन्द्र सैनिक अस्पतालका प्रशासनिक रजिस्ट्रार, नेपाली सेना मुख्यालयका नीति तथा योजना निर्देशक तथा १६ र ९ ब्रिगेडका कमाण्डरसमेत भइसकेका छन्।

श्रेष्ठ चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयअन्तर्गत ‘इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडीज’ बाट सैन्य विज्ञान तथा रणनीति विषयमा स्नातकोत्तर डिग्रीधारी छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र मानविकी तथा समाजशास्त्रमा स्नातक पनि गरेका छन्।

२०८० साउन ३० मा उपरथीमा बढुवा भएका श्रेष्ठलाई गएको असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले रथी पदमा उकासेको थियो। बलाधिकृत रथी निर्मलकुमार थापा ५८ वर्षे उमेर हद पूरा गरी अवकाश गएपछि श्रेष्ठ बलाध्यक्ष रथी बनेका थिए।

यसअघि पनि नेपाली सेनाका सात जना अधिकृतले यूएन मिसनमा फोर्स कमाण्डरको भूमिका सम्हालेका छन्। श्रेष्ठको नियुक्तिसँगै यो सूचीमा उनको नाम आठौँ स्थानमा समावेश भएको छ। अहिले नेपाली सेनामा दुई रथीको दरबन्दीमध्ये प्रदीपजंग केसीसमेत कार्यरत छन्।

रथी श्रेष्ठको पछिल्लो नियुक्तिलाई नेपाली सेनाले ऐतिहासिक तथा गौरवपूर्ण उपलब्धिका रूपमा लिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *