देश

नलिन्चोक हेलिप्याड काण्डमा क्यानका महानिर्देशक अधिकारी दुई दिन थप हिरासतमा

काठमाडौं । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिप्याड प्रकरणमा देखिएको भ्रष्टाचार आरोपपछि पक्राउ परेका नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारी र निर्देशक मुरारी भण्डारी दुई दिन थप हिरासतमा रहने भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको थियो। तर आज ढिलो गरी अभियोगपत्र दायर हुन पुगेपछि बयान तथा थुनछेक बहसका लागि समय नपुग्दा विशेष अदालतले इजलासकै आदेशअनुसार शुक्रबारसम्म हिरासतमा राख्न निर्णय गरेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।

उनका अनुसार अब शुक्रबार मात्र दुवै अधिकारीको बयान आणि थुनछेक बहस हुनेछ। “समय अभावका कारण आज प्रक्रिया अघि बढ्न नसकेकाले शुक्रबार मात्र सुनुवाइ हुनेछ,” उनले बताए। अख्तियारले महानिर्देशक अधिकारी र निर्देशक भण्डारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नलिन्चोकमा जोखिमपूर्ण र अनियमित रूपमा हेलिपोर्ट निर्माण गरिएको आरोपसमेत उनीहरूलाई लगाइएको छ।

मुद्दामा अधिकारी र भण्डारीसँगै क्यानका उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालि, सो प्रालिका प्रमुख विजय थापा र निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाइएको छ। विशेष अदालतमा दायर अभियोगपत्रअनुसार उक्त प्रकरणमा कूल १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा बिगो दाबी गरिएको छ।

अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणमा अनियमितता तथा प्राविधिक जोखिमबारे उजुरी परेपछि अनुसन्धान अघि बढाएको थियो। अब शुक्रबार अदालतमा बयान तथा थुनछेक बहसपछि प्रकरण कानुनीरूपमा अर्को चरणमा प्रवेश गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *