काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हिमालयन टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ मा अन्तर्वार्ताको क्रममा थापाले स्पष्ट रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। कार्यक्रममा प्रस्तोता निमेष बन्जाडेले सोधे, “तपाईं आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार हो कि होइन?”
थापाले जवाफमा भने, “त्यसमा कुनै डाउट नै छैन। म पन्ध्रौं महाधिवेशनको सभापतिको उम्मेदवार हुँ।” थापाले आफ्नो उम्मेदवारीको सन्दर्भमा विश्वास व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले पन्ध्रौं महाधिवेशनबाट मलाई ऐतिहासिक नेतृत्वको जिम्मेवारी दिनेछन् भन्ने मेरो विश्वास छ।”
अन्तर्वार्तामा उनले प्रतिनिधिसभा चुनावमा आफू कुन क्षेत्रबाट उठ्ने, पार्टीका अन्य नेतासँगको सम्बन्ध, नयाँ कांग्रेसको प्रारूप लगायतका विषयमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।




