काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि लामो समयपछि समितिको बैठक बस्न लागेको हो ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्ने छ । समिति सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणसम्बन्धी आवश्यक काम सुरु गरिने जानकारी दिए ।
उनका अनुसार केन्द्रीय कार्यसमितिले गरेको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रियालाई सरल र व्यवस्थित बनाउने विषयमा छलफल हुने छ ।
समितिले हालसम्म भएका कामहरूको अभिलेखीकरण गर्ने र प्राविधिक पक्षलाई सहज बनाउने तयारी गरिएको पनि उनले बताए ।
कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्दै महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।
महामन्त्री थापाले १८ कात्तिकमा केन्द्रीय कार्यसमितिमा पेश गरेको प्रतिवेदनअनुसार झण्डै ९ लाख क्रियाशील सदस्यमध्ये हालसम्म करिब ३ लाखले मात्र नवीकरण गरेका छन् ।




