काठमाडौं । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै दर्ता भएको श्रम संस्कृति पार्टीले आफ्ना नीतिगत एजेन्डा सार्वजनिक गर्दै नेपाली राजनीतिमा कडा वैकल्पिक धारको उद्घोष गरेको छ। घोषणापत्रमा शासकीय संरचना, शिक्षा, राष्ट्रियता र अर्थतन्त्रका क्षेत्रमा व्यापक रूपान्तरणका प्रस्ताव समेटिएका छन्, जसको केन्द्रमा पार्टीले अघि सारेको मूल दर्शन ‘हर्कवाद’ रहेको छ।
घोषणापत्रले वर्तमान संसदीय प्रणालीलाई अस्थिर, छरछरिलो र कार्यक्षमताविहीन ठहर गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति–उपराष्ट्रपति प्रणाली अपनाउन प्रस्ताव गरेको छ। राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग तथा फरक जातिका हुनुपर्ने बाध्यकारी समावेशी प्रावधान पनि पार्टीको प्रमुख एजेन्डामा पर्छ।
‘हर्कवाद’: श्रम, अनुशासन र उत्पादनलाई केन्द्रमा राख्ने राजनीतिक दर्शन
पार्टीले प्रस्तुत गरेको ‘हर्कवाद’लाई प्रकृति, संस्कृति, प्रविधि र श्रमको सन्तुलित संयोजन मानिएको छ। घोषणापत्रअनुसार अभाव, गरीबी र विभेद अन्त्य गर्न अनिवार्य श्रम, श्रमदान र उत्पादन–मुखी समाज निर्माण अनिवार्य हुन्छ। यही सिद्धान्तलाई पार्टीको वैचारिक मेरुदण्डका रूपमा पेश गरिएको छ।
शासकीय संरचना परिवर्तनको कडा प्रस्ताव
- सांसद केवल कानून निर्माता—मन्त्री बन्न नपाउने।
- मन्त्री बन्न सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्ने र यदि सांसद मन्त्री बने पद ‘स्वतः निलम्बन’ हुने।
- पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने।
- संघमा द्विसदनीय, प्रदेशमा एक सदन व्यवस्था।
- कार्यकारी राष्ट्रपतिको कार्यकाल ५ वर्ष, अधिकतम २ कार्यकाल।
- शिक्षामा सर्वथा नयाँ मोडेल
- पार्टीको शिक्षा प्रस्ताव अत्यन्तै कडा र परम्परा–विच्छेदकारी देखिन्छः
- विद्यालयमा ३ दिने सैद्धान्तिक, ४ दिने उत्पादन तथा सिर्जना–आधारित शिक्षा।
- १२ कक्षासम्म खाना पकाउने, लुगा सिउने जस्ता सीप अनिवार्य।
- १२ कक्षा पार गरेपछि अनिवार्य सैनिक तालिमस तालिमपछि मात्र उच्च शिक्षा।
- शिक्षकलाई राजनीतिक दलको सदस्यता वा गतिविधिमा पूर्ण प्रतिबन्ध।
- राष्ट्रियता र सुरक्षास् कठोर नीति
- घोषणापत्रमा राष्ट्रियताको सवालमा अत्यन्त कडा अडान
- सञ्चालनमा रहेका सबै आईएनजीओ खारेज गर्ने।
- सीमा सुरक्षाका लागि नेपाली सेनालाई प्रत्यक्ष खटाउने।
- विदेशी नागरिकले विवाहका आधारमा नागरिकता पाउन ५ वर्ष बसोबास र मूल नागरिकता त्यागको प्रमाण अनिवार्य।
अर्थतन्त्र : श्रमदानदेखि वैज्ञानिक कर प्रणालीसम्म
- धनी वर्गबाट अधिक कर, गरिबलाई सहुलियत।
- एक गाउँ–एक उद्योग, एक घर–एक स्वरोजगार।
- विदेशी लगानी बिनासर्त स्वीकार्य नहुने।
- सरकारी खर्चमा कठोर मितव्ययिता, अनुत्पादक खर्च कटौती।
- ‘श्रमदान’ अभियानलाई राष्ट्रिय नीतिका रूपमा लागू गर्ने।
- सुशासन र पारदर्शितामा कठोरता
- पार्टीले सुशासनका लागि निम्न प्रस्ताव राखेको छः
- सरकारी कर्मचारीको गल्तीमा सरुवा होइन, सीधा बर्खास्त।
- पत्रकार, कर्मचारी र न्यायालय पूर्ण गैरराजनीतिक।
- सबै सरकारी बैठक तथा निर्णय प्रक्रियाको प्रत्यक्ष प्रसारण।
- नयाँ पुस्ताका माग सम्बोधन
युवा पुस्ताको असन्तुष्टिलाई सम्बोधन गर्न पार्टीले ‘जेनजी आयोग’ गठन गर्ने घोषणा गरेको छ। धर्मनिरपेक्षतालाई कायम राख्दै जबरजस्ती धर्म परिवर्तन कडाइका साथ निषेध गर्ने नीति पनि समावेश छ। धरानमा स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका हर्क साम्पाङले यो घोषणापत्रद्वारा आफू राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको रूपमा उभिन तयारी अवस्थामा रहेको सन्देश दिएका छन्। उनका कठोर, प्रयोगात्मक र विवादास्पद प्रस्तावहरूले नेपाली राजनीति नयाँ बहसतर्फ धकेल्ने संकेत गरेको देखिन्छ।




