धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्याग गरेका छन्। सर्वसम्मत प्रतिनिधि चयनको नाममा गुटगत चलखेल गरिएको आरोप लगाउँदै उनले आइतबार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन्।
चन्द २०७४ र २०७९ दुवै स्थानीय तह निर्वाचनमा एमालेबाटै गाउँपालिकाको अध्यक्षमा विजयी भएका नेता हुन्। पछिल्लो प्रतिनिधि छनोटमा आफूलाई समेटिन नदिएको आरोप लगाउँदै उनले पार्टी जिम्मेवारी जिल्ला इन्चार्ज लिलाधर भट्टलाई र पालिकासम्बन्धी जिम्मेवारी उपाध्यक्ष बिना भट्ट तथा वडाध्यक्ष रामसिंह पुजारालाई हस्तान्तरण गरेका छन्।
उनका अनुसार महाधिवेशन प्रतिनिधिमा आफूलाई रोक्न लिलाधर भट्ट र पूर्वमन्त्री दामोदर भण्डारी जिम्मेवार छन्। “पार्टीभित्रको चरम गुटबन्दी, चाकरी संस्कृति र झोले प्रवृत्तिले दिक्क लागेको थियो,” चन्दले लेखेका छन्, “निरंकुश नेतृत्वविरुद्ध समय–समयमा आवाज उठाएँ, तर अन्त्यमा सहन सकेन।”
एमाले बैतडीले शनिबार सर्वसम्मतरूपमा १५ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ।




