काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सबक सिकाउनुपर्ने बताएका छन्।
शुक्रबार कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको एकता सन्देशसभामा सम्बोधन गर्दै प्रचण्डले संसद विघटन र पुनःस्थापनाबारे अहंकारी व्यवहार देखाउने नेताहरूलाई चेतावनी दिनु आवश्यक रहेको बताए।
उनले भने, “हिजो संसद विघटन गर्ने, आज पुनःस्थापना माग गर्ने अहंकारी दम्भीलाई सबक सिकाउने बेला यही हो। अहिले निर्वाचनको विकल्प छैन। नेपाली कांग्रेसले चुनावमा जाने निर्णय गरिसकेको छ। एमालेले पनि दल दर्ता गरिसकेको छ। अब धाकधम्कीको अर्थ छैन।”
प्रचण्डले जेनजी आन्दोलनपछि आफूलाई देश संकटग्रस्त भएको जस्तो लागेको बताए। उनले भने, “संविधान र गणतन्त्र खारेज हुने हल्लाबीच हामी शीतलनिवासमा सन्त्रासमै थियौं। राष्ट्रपतिलाई सहजीकरण गर्ने काममा गर्व छ। संविधान बचाउने हाम्रो भूमिका महत्वपूर्ण रह्यो।”
उनले नेपाली कम्युनिस्ट पार्टी राष्ट्रको संकट सामना गर्न गठन गरिएको र चुनाव जित्ने उद्देश्यमा नभएको स्पष्ट पारे।
१५ वटा कम्युनिस्ट घटकको एकताले नयाँ रेकर्ड बनाएको स्मरण गर्दै प्रचण्डले अब एमालेमा ध्यान केन्द्रित गरेको बताए।
उनले भने, “बृहत् वामपन्थी एकता आवश्यक छ। हाम्रो दृष्टि एमालेभित्रका देशभक्त वामपन्थी नेताहरूलाई पनि हाम्रो पार्टीमा ल्याउनेतर्फ छ। केवल कम्युनिस्टहरू मात्र मिलेर हुँदैन, नेपाली कांग्रेसलाई पनि मोर्चामा ल्याउनुपर्छ।”
अन्ततः प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीलाई सबैको सहभागिता र अधिकार सुनिश्चित गर्ने पार्टी बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याए।




