देश

सुदूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठक सम्पन्न, सुरक्षा गोष्ठीको तयारी

कैलाली। सुदूरपश्चिम प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी यही मङ्सिर १६ गते धनगढीमा आयोजना हुने भएको छ। गोष्ठीमा प्रदेशको समग्र शान्ति, सुरक्षा स्थिति, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी निर्वाचनसम्बन्धी विषयमा छलफल हुने र प्रतिवेदन प्रस्तुत गरिनेछ।

आज यहाँ मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको अध्यक्षतामा बसेको सुदूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठकले चारवटै सुरक्षा निकाय र प्रदेश निर्वाचन कार्यालयको सहभागितामा प्रस्तुतीकरण तयार गर्ने निर्णय गरेको छ।

बैठकले सुरक्षा गोष्ठीमा व्यवस्थापकीय पक्ष जिल्ला प्रशासन कार्यालय कैलाली, आर्थिक व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको साझेदारीमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

साथै, प्रदेशभित्र रहेका आपत्कालीन गोदामघरहरुको व्यवस्थापन कानुनबमोजिम हुने गरी अनुगमन तथा निरीक्षणका लागि चारवटै सुरक्षा निकायको सहभागितामा अनुगमन टोली गठन गर्ने र महिनामा एकपटक निरीक्षणको व्यवस्था मिलाउने निर्णय भएको छ।

धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपत्कालीन गोदामघरको व्यवस्थापन कानुनअनुसार हुने गरी सुरक्षा प्रबन्धका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीलाई सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *