विश्व

पाकिस्तानद्वारा इमरान खानको स्वास्थ्यबारे फैलिएका सबै अटकलबाजी अस्वीकार

पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पिटिआईका वरिष्ठ नेताहरूले पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यबारे फैलिएका अनलाइन अटकलबाजी पूर्ण रूपमा गलत रहेको बताउँदै उहाँ ‘पूर्ण रूपमा ठिक रहनुभएको’ बताएका छन् । उहाँको स्वास्थ्य बिग्रिएको दाबीहरूलाई डनसँग कुरा गर्दै दुवै पक्षले अस्वीकार गरेका हुन् ।

यद्यपि, पिटिआई नेतृत्वले परिवारका सदस्य र कानूनी सल्लाहकारलाई तीन हप्ताभन्दा बढी समयदेखि भेट्न नदिइएका कारण चिन्ता बढिरहेको बताउँदै अदियाला जेलमा रहेका पार्टी संस्थापकसँग भेटका लागि अनुरोध नवीकरण गरेको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा १४ वर्ष जेल सजाय भोगिरहनुभएका इमरानलाई भेट्न माग गर्दै परिवार तथा कार्यकर्ताहरूले पछिल्ला दिनमा जेल बाहिर प्रदर्शन गरिरहेका छन् । पिटिआईको प्रतिनिधिमण्डल आज फेरि जेल पुगे पनि प्रवेश अनुमति दिइएन ।

७३ वर्षीय इमरानलाई उच्च सुरक्षा सुविधा रहेको स्थानमा सार्न सकिने विषयमा सामाजिक सञ्जालमा चर्को चर्चा फैलिएको छ, जसले अनलाइनमा ‘इमरान खान कहाँ हुनुहुन्छ ?’ भन्ने प्रश्नलाई अत्यधिक चर्चा दिलाएको छ । गृह मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन ।

एआरवाई न्युजसँग कुरा गर्दै प्रधानमन्त्रीका सल्लाहकार सनाउल्लाहले इमरानको स्वास्थ्यबारे जनाइएको चिन्ता निराधार भएको बताउनुभयो । उहाँका अनुसार चिकित्सकहरूको टोलीले दैनिक तथा साप्ताहिक रूपमा स्वास्थ्य परीक्षण गर्दै औषधि, आहार तथा आवश्यक सुविधाहरू व्यवस्थापन गरिरहेको छ । उहाँले इमरान अदियाला जेलमै रहेको र स्थानान्तरणबारेका खबर गलत भएको स्पष्ट पार्नुभयो ।

पिटिआईका वरिष्ठ नेता तथा सिनेटर अली जफरले डन न्युज टिभीमा बोल्दै यी दाबीहरूलाई आधारहीन बताउनुभयो । उहाँले नेतृत्वले तुरुन्तै भेटको व्यवस्था मिलाइनुपर्ने जोड दिँदै ‘इमरानलाई प्रत्यक्ष भेटेर मात्रै आम जनतालाई आश्वस्त गर्न सकिन्छ’ भन्नुभयो । पिटिआईले यो मुद्दा सिनेटमा समेत उठाएको र गृहराज्यमन्त्री तलाल चौधरीलाई भेटको अनुमति दिन आग्रह गरिएको पनि बताइएको छ ।

पिटिआईका केन्द्रीय सूचना सचिव वकास अकरमले समेत इमरानबारे ‘भ्रामक कथा’ फैलाइएको भन्दै सरकारले उहाँलाई कुनै हानि पु¥याउन नसक्ने दाबी गर्नुभयो । जियो न्युजमा आन्तरिक राज्यमन्त्री चौधरीले पनि अटकलबाजी पूर्ण रूपमा झुटो भएको बताउँदै ‘उहाँको स्वास्थ्य ठिक छ’ भन्ने जानकारी पुनः दोहोर्‍याउनुभयो ।

यसैबीच, पिटिआई नेताहरू र परिवारका सदस्यहरूले इमरानको उमेर र सुरक्षा परिस्थितिको संवेदनशीलताबारे चिन्ता जनाइरहेका छन् । कान्छा छोरा कासिम खानले सामाजिक सञ्जालमा लेख्दै बुबालाई डेथ सेलमा एकान्तमै राखिएको र अदालती आदेश हुँदाहुँदै पनि नियमित भेट अनुमति नदिइएको आरोप लगाउनुभएको छ । उहाँले कुनै फोन, कुनै भेट, कुनै प्रत्यक्ष सूचना नपाइएको भन्दै ‘पूर्ण ब्ल्याकआउट’ जस्तै अवस्था भएको उल्लेख गर्नुभएको छ ।

कासिमले अन्तर्राष्ट्रिय समुदाय र मानव अधिकार संस्थाहरूलाई तत्काल हस्तक्षेप गर्न अपिल गर्दै इमरान खानको जीवनको प्रमाण, भेटको अनुमति कार्यान्वयन र ‘अमानवीय एकान्त कारावास’ अन्त्य गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार इमरानलाई केवल राजनीतिक कारणले मात्र कैद गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *