काठमाडौँ ।गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३–२४ मा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेशन’ सञ्चालन भएको जानकारी दिए। बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उहाँले हालसम्म आन्दोलनको क्रममा लुटिएका ७२३ थान हतियार बरामद भइसकेको बताए।
जेन–जी आन्दोलनका क्रममा जेल ब्रेक गरी भागेका १४ हजार ५ सय ५४ कैदीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइएको र बाँकी ४ हजार ८ सय ५७ फरार कैदीको खोजीका लागि विशेष अपरेशन जारी रहेको उनले जानकारी दिए।
अपराधिक घटनामा संलग्न ५ सय ९५ जनालाई पक्राउ गरिएको र २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको पनि उनले बताए। आगामी आम निर्वाचनमा सुरक्षाका लागि सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भइसकेको छ।
सातै प्रदेशमा निर्वाचनलक्षित सुरक्षा गोष्ठी सञ्चालन भइरहेको र सुरक्षा निकायहरूको सुदृढीकरणका लागि आवश्यक उपकरण तथा सवारी साधन खरिद प्रक्रियामा रहेको समेत गृहमन्त्री अर्यालले स्पष्ट पारे। नेपाल प्रहरीले २ सय ६२, सशस्त्र प्रहरी १ सय ९९ र राष्ट्रिय अनुसन्धान विभाग ६ सवारी साधन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिइएको छ।
सरकार प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणाअनुसार सम्पन्न गर्न कटिबद्ध रहेको उनले जोड दिए।




