राजनीति

कम्युनिस्ट एकता ‘सैद्धान्तिकरूपमा खोक्रो’, बहस सुरु भए फुट निश्चित : घनश्याम भूसाल

काठमाडौं। नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानका अगुवा नेता घनश्याम भूसालले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच हालै भएको पार्टी एकतालाई ‘असैद्धान्तिक’ र ‘अवसरवादी’ भन्दै कडा आलोचना गरेका छन्। उनका अनुसार एमालेबाट छुट्टिएको औचित्य नै अधुरो रहँदा माओवादीसँग एकता गर्नु नेताहरूको सत्ता मोह र व्यक्तिगत स्वार्थ केन्द्रित निर्णय हो।

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै भूसालले माओवादीसँगको एकता प्रक्रियामा सैद्धान्तिक सोच, वैचारिक दिशा र दीर्घकालीन रणनीतिक लक्ष्य सबै बेपत्ता भएको आरोप लगाए। उनका अनुसार पार्टीका केही शीर्ष नेताले आफ्नो पद र भविष्यको उम्मेदवारी सुरक्षित गर्न मात्रै बीचमा सम्झौता गरेर एकता अघि बढाएका हुन्। उनले भने,“यो कुनै वैचारिक एकता होइन, सत्ताका लागि बार्गेनिङ गर्ने, एमाले वा कांग्रेससँग व्यवसायिक ढंगले शक्ति साटासाट गर्ने रणनीति मात्र हो।”

भूसालले नेपाली कम्युनिस्ट पार्टीहरूमा वैचारिक बहस उठ्नेबित्तिकै फुट, विवाद र गालीगलौज सुरु हुने प्रवृत्ति गहिरिंदै गएको बताए। उनको भनाइमा—“बहुदलीय जनवाद, महाकाली सन्धि, एमसीसी जस्ता गम्भीर विषयमा प्रश्न उठ्यो भने पार्टीभित्र झगडा र कुटाकुट तात्तै सुरु हुन्छ।”

उनका अनुसार यही कारणले वर्तमान एकीकृत समाजवादी–माओवादी एकतालाई टिकाइराख्न नेताहरूबीच ‘वैचारिक बहस कहिल्यै नगर्ने’ मौन सहमति नै बनेको हुनसक्छ। भूसालले प्रचण्ड र माधव नेपालबीचको एकतालाई ‘परिवर्तनकारी कम्युनिस्ट एकता’ नभई ‘सत्ता दोहनका लागि बनाइएको संरचना’को संज्ञा दिए। उनका शब्दमा—“क्रान्तिको बाटो समात्ने कि दलाल पुँजीवादसँग उठबस गर्ने—यसकै उत्तर खोज्नुपर्ने बेला हो। तर अहिलेको एकता सैद्धान्तिक रूपान्तरण होइन, गिरोह विस्तार र सत्ताभोगतिर लागेको छ।”

उनले दाबी गरे कि यदि पार्टीभित्र वैचारिक बहस खुला रूपमा चल्यो भने, नयाँ एकीकृत कम्युनिस्ट संरचना चार टुक्रासम्म विभाजित हुन सक्छ। भूसालका अनुसार आफूले एमालेमा गरेका वैचारिक बहसहरू एकीकृत समाजवादीमा आएर पनि सुन्ने र स्वीकार्ने वातावरण तयार हुन सकेन।
उनले थपे— “हामी सिद्धान्त, संगठन र विचारका विषयमा बहस गर्न चाहन्थ्यौँ, तर त्यही विषय दोहोर्याउँदा फेरि समान असहमति देखियो। अन्ततः हामी अल्पमतमा पर्‍यौँ र त्यो एकतामा सहभागी नहुने निर्णय गर्‍यौँ।”

भूसालका टिप्पणीले कम्युनिस्ट पार्टीभित्रको वैचारिक रिक्तता, सत्ताकैन्द्रीत एकता, र दीर्घकालीन राजनीतिक दृष्टिको अभावबारे पुनः छलफलको लहर उठाएको छ।उनका तर्कले संकेत गर्छ— यदि वैचारिक बहस सचेत रूपमा रोकिराखियो भने एकता सतही रहन्छस तर बहस खोलेर अघि बढियो भने एकता टिक्नै सक्दैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *