काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज दिउँसो १ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ। जेनजी आन्दोलनका कारण देशभर बदलिँदै गएको राजनीतिक समीकरणले राप्रपाको आगामी दिशानिर्देश कस्तो हुने भन्नेबारे निर्भरता आजको बैठकमै रहने देखिन्छ।
बैठकले पहिलो चरणमा जेनजी आन्दोलनपछिको समसामयिक राजनीतिक अवस्थाको विश्लेषण गर्नेछ। विशेषगरी आन्दोलनले परम्परागत दलसमेतलाई प्रभाव पारेको अवस्थामा राप्रपाले आफ्नो भूमिका कसरी पुनर्स्थापित गर्ने भन्ने विषय आजको एजेन्डाको केन्द्रमा रहने बताइएको छ।
यससँगै बैठकमा—आगामी केन्द्रीय समिति बैठकका एजेन्डा निश्चित गर्ने,पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउने,सबै तहको अधिवेशन छिटो सम्पन्न गर्ने योजना अघि बढाउने,एजेन्डा–केन्द्रित कार्यक्रम सञ्चालन गर्ने,र सम्भावित चुनावी वातावरण बनेमा चुनावी तयारी कसरी तीव्र गर्ने—
जस्ता विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
जेनजी आन्दोलनपछि देशको राजनीतिक ध्रुवीकरण बदलिँदै जाँदा, राप्रपाले आफ्नो संगठन, रणनीति र प्रभाव क्षेत्र पुनस् परिभाषित गर्नुपर्ने दबाब बढिरहेको अवस्थामा यो बैठक पार्टीको आगामी दिशानिर्धारणका लागि महत्त्वपूर्ण मोड मानिएको छ।




