विश्व

इमरान खानको स्वास्थ्यबारे फैलिएको ‘अफवाह’ स्पष्ट पार्न सरकारसँग आग्रह

पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीले हिरासतमा रहनुभएका संस्थापक तथा पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यसम्बन्धी बढ्दै गएको ‘अफवाह’ का बीच उहाँकै सुरक्षाबारे औपचारिक र पारदर्शी स्पष्टीकरण तुरुन्तै दिन सरकारसमक्ष अनुरोध गरेको छ । पार्टीले डन दैनिकलाई उद्धृत गर्दै इमरान खान र उहाँको परिवारबीच छिटोभन्दा छिटो भेटको व्यवस्था मिलाउन पनि माग गरेको छ ।

हालैका दिनहरूमा इमरान खानका बहिनीहरूलाई अडियाला जेलमा भेट्न अनुमति नदिँदा परिवारजन र समर्थकहरूबीच गम्भीर चिन्ता बढेको छ । बहिनीहरूलाई उहाँको वास्तविक अवस्थाबारे सोधपुछ गर्न र जेल प्रशासनले स्पष्ट धारणा नदिएकाले सुविधा बाहिरै धर्ना दिन समेत आग्रह गरिएको थियो ।

डनका अनुसार यी सबै शङ्काहरू सामाजिक सञ्जाल एक्समा तीव्र रूपमा फैलिएका अप्रमाणित दाबीहरूसँग जोडिएका हुन् । केही भारतीय सञ्चारमाध्यमहरूले समेत इमरानको स्वास्थ्य र सम्भावित निधनसम्बन्धी आधारहीन समाचार विस्तार गरेपछि ‘इमरान खान कहाँ हुनुहुन्छ ?’ ह्यासट्याग बिहीबार बिहान प्लेटफर्ममा व्यापक रूपमा ट्रेन्ड भएको थियो ।

एक्समै जारी गरिएको विज्ञप्तिमा पिटिआईले ‘अफगान तथा भारतीय मिडिया र विदेशी सामाजिक मिडिया खाताहरूबाट इमरान खानको अवस्थाबारे घृणास्पद प्रकृतिका अफवाहहरू फैलाइएको’ आरोप लगाएको छ । पार्टीले वर्तमान सरकार र गृह मन्त्रालयले यी सबै दाबीलाई तुरुन्तै खण्डन गर्न, तथ्यसहित जनतालाई जानकारी गराउन तथा परिवारसँग तुरुन्तै भेटको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

पार्टीले भनेको छ, “इमरान खानको स्वास्थ्य, सुरक्षा र वर्तमान स्थितिसम्बन्धी राज्य पक्षबाट पारदर्शी र आधिकारिक विवरण सार्वजनिक हुनु अनिवार्य छ ।” साथै, यस्तो संवेदनशील विषयमा अफवाह फैलाउनेहरूको छानबिन गरी सत्य बाहिर ल्याइनुपर्ने मागसमेत पार्टीले गरेको छ । विज्ञप्तिमा भनिएको छ, “राष्ट्रले आफ्ना नेताको अवस्थाबारे कुनै पनि अनिश्चितता सहन सक्दैन ।”

पिटिआईले पुनः सरकारलाई ‘इमरान खानको सुरक्षा, मानवअधिकार र संवैधानिक अधिकारको रक्षा सुनिश्चित गर्न’ स्मरण गराउँदै आफूहरू सत्यको खोजीमा प्रत्येक कानूनी र राजनीतिक विकल्प प्रयोग गर्न तयार रहेको स्पष्ट पारेको छ ।

पार्टी नेत्री मेहर बानो कुरेसीले पनि इमरान खानसम्बन्धी अफवाहलाई अत्यन्त चिन्ताजनक बताउँदै एक्समा लेख्नुभएको छ, “खान साहेबको सुरक्षाको पूर्ण जिम्मेवारी सरकारकै हो र राष्ट्रलाई अद्यावधिक जानकारी दिनु यसको कर्तव्य हो ।” उहाँले इमरान खानका बहिनी, वकिल तथा पार्टी नेताहरूलाई भेट्न अनुमति दिनु नै ‘सबैभन्दा विश्वसनीय र पारदर्शी उपाय’ भएको बताउनुभयो ।

यसबीच, रक्षामन्त्री ख्वाजा आसिफले बढ्दो अनुमानबारे टिप्पणी गर्दै एउटा पुरानो भिडियोको सन्दर्भ दिनुभयो, जसमा इमरान खानले पूर्व प्रधानमन्त्री नवाज सरिफले जेलमा सुविधा मागेको भन्दै आलोचना गर्नुभएको थियो । आसिफले इमरानकै जेल कोठामा ‘टेलिभिजन, बाहिरबाट ल्याइने भोजन तथा व्यायामका मेसिनहरूको व्यवस्था रहेको’ दाबी गर्नुभयो । आफू जेलमा हुँदा कम्बल अभाव र तातो पानी नपाई चिसो भुइँमा सुत्नुपरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “इमरानलाई दोहोरो ओछ्यान र मखमली सिरक उपलब्ध छ, जेल सुपरिटेन्डेन्टले व्यक्तिगत रूपमा हेरचाह गर्छन् ।”

आसिफले यसअवस्थालाई व्यङ्ग्य गर्दै भन्नुभयो, “इमरान खानले जेलको लाउडस्पीकरमै आफ्ना भाषण सुन्नुपर्छ, उहाँले भगवानसँग डराउनुपर्छ ।”

७३ वर्षीय इमरान खान सन् २०२३ अगस्टदेखि हिरासतमा हुनुहुन्छ र हाल १९ करोड पाकिस्तानी रूपैयाँको भ्रष्टाचार मुद्दामा अडियाला जेलमा थुनामा हुनुहुन्छ । सन् २०२३ मे ९ को घटनासँग सम्बन्धित आतङ्कवाद विरोधी ऐनअन्तर्गत उहाँमाथि थप मुद्दाहरू समेत दायर गरिएका छन् । उहाँको स्वास्थ्य र सुरक्षाबारे पिटिआईले निरन्तर चिन्ता व्यक्त गर्दै आएको डनले उल्लेख गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *