चौमाला (कैलाली)। धनगढीमा नेकपा (एमाले) का नेता महेश बस्नेत पुगेपछि स्थिति केहीबेर तनावपूर्ण बनेको छ। बस्नेतविरुद्ध जेनजी युवाहरूले प्रदर्शन गरेपछि हसनपुरस्थित जेनजी मार्गनजिकको क्षेत्र वातावरण तन्किएको हो।
एमाले पोलिटब्युरो सदस्य बस्नेतलाई विमानस्थलबाट कार्यक्रमस्थलतर्फ लैजाँदै गर्दा जेनजी युवा समूह र एमाले निकट भातृसङ्गठन युवाबीच सामान्य झडप भएको बताइएको छ। प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका जेनजी युवामाथि प्रहरीले सुरक्षा घेरा बनाएको अवस्थामा केहीलाई सामान्य चोटपटक लागेको जेनजी नेतृत्वले जनाएको छ।
घटनामा धनगढी–४ की जेनजी अगुवा सरिता जोशीसहित केही युवा घाइते भएका छन्। जोशीको हातमा चोट लागेपछि अस्पतालमा उपचार भइरहेको छ।
जेनजी युवाहरूले विभिन्न नारा लगाउँदै बस्नेतको विरोध प्रदर्शन गरेका थिए। नेता बस्नेत धनगढीमा आयोजित युवा सङ्घको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न कैलाली पुगेका हुन्।




