काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ। जनकपुरले बिहीबार पोखरा एभेन्जर्सविरुद्ध हुने खेलमा यो विशेष जर्सी प्रयोग गर्नेछ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले खेलाडीहरूले आ–आफ्नो आमाको नाम अंकित जर्सी लगाएर मैदानमा उत्रने जानकारी दिए।
“आमाको सम्मानमा यो विशेष जर्सी लगाउने निर्णय गरिएको हो,” खतिवडाले भने।बिहीबारको खेलपछि ती जर्सी अक्सनमार्फत बिक्री गरिने र संकलित रकम ‘आमा समूह’लाई प्रदान गरिने जनाइएको छ।
सुरुआती दुवै खेलमा पराजित भएको साविक विजेता जनकपुर बोल्ट्स बिहीबार पहिलो जितको खोजीमा उत्रनेछ।




