देश

‘आगामी निर्वाचनमा उज्यालो नेपाल र हाम्रो पार्टी नेपाल एउटै चिह्न ‘बिजुलीको चिम’मा सहमत’

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच चुनावी सहकार्यको प्रारम्भिक मोडेल तयार भएको छ। दुवै दलले फागुन २१ मा हुने निर्वाचनमा एउटै चुनाव चिह्न—‘बिजुलीको चिम’—प्रयोग गर्ने निर्णय गरेका छन्।

उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको दल मानिन्छ भने हाम्रो पार्टी नेपाल सामाजिक अभियन्ता खगेन्द्र सुनारले स्थापना गरेका हुन्। दुवै दलबीच बुधबार काठमाडौंमा भएको छलफलपछि साझा चुनाव चिह्न र आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति बनेको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए।

थापाका अनुसार दलहरूबीच बनेको सहमति औपचारिक रूपमा दर्ता गर्न दुवैले चाँडै निर्वाचन आयोगमा संयुक्त निवेदन पेश गर्ने तयारी गरेका छन्।

साझा चुनाव चिह्न प्रयोग गर्ने निर्णयलाई दुई दलबीचको संभावित गठबन्धनको प्रारम्भिक संकेतका रूपमा हेरिएको छ, जसले आगामी निर्वाचनमा उनीहरूको संगठनात्मक उपस्थिति बलियो बनाउन सहयोग पुर्‍याउन सक्ने अनुमान गरिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *