काठमाडौं । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध जेनजी युवाहरूको विरोध प्रदर्शन निरन्तर बढ्दै गएको छ। यसको पछिल्लो दृश्य बुधबार कैलालीको धनगढीमा देखियो, जहाँ जेनजी समर्थक युवाहरूले प्लाकार्डसहित सडकमा उत्रिएर बस्नेतविरुद्ध नाराबाजी गरे।
जेनजी आन्दोलनले २३ र २४ भदौमा एमाले नेतृत्वको सरकारले सत्ता गुमाएपछि बस्नेत र जेनजी आन्दोलनबीचको तिक्तता झनै तीव्र हुँदै गएको छ। बस्नेतले जेनजी समूहलाई विभिन्न आलोचना गर्दै वक्तव्य दिने क्रम बढाएका छन् भने जेनजी युवाहरूले देशका विभिन्न स्थानमा उनको प्रत्येक कार्यक्रममा विरोध जनाउन थालेका छन्।
गत ४ मंसिरमा बाराको परवानीपुरमा आयोजना भएको कार्यक्रममा बस्नेत आउने सूचना सार्वजनिक भएपछि जेनजी युवाहरूको तीव्र प्रदर्शनले दुई दिनसम्म सिमरा वातावरण नै तनावग्रस्त बनेको थियो। त्यसपछि ७ मंसिरमा इटहरी जाँदै गर्दा बस्नेत सवार गाडीमा जेनजी कार्यकर्ताद्वारा रातो रङले भरिएको बेलुन प्रहार गरिएको घटना सार्वजनिक भयो।
मंगलबार सुर्खेतमा पनि केही युवाहरूले बस्नेत सहभागी कार्यक्रमलाई लक्ष्य गर्दै विरोध प्रदर्शन गरेका थिए। लगातार भइरहेका विरोध गतिविधिले बस्नेत र जेनजी आन्दोलनबीचको द्वन्द्व देशव्यापी रूपमै फैलिँदै गएको छनक दिएको छ।




