कीर्तिपुर (काठमाडौँ)। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले दोस्रो संस्करणमा प्रविधि तथा समग्र व्यवस्थापन प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्। तर उनीहरूले खाद्य स्टल, चिया–पानी तथा शौचालय जस्ता आधारभूत सेवा व्यवस्थापन भने पर्याप्त नहुँदो गुनासो गरेका छन्।
रङ्गशाला १० हजार दर्शक क्षमता र प्यारापिटसहित अन्तरराष्ट्रियस्तरमा निर्माण भएको तथा ‘फ्लडलाइट’का कारण राति खेल सम्भव बनेको उल्लेख गर्दै कैलालीको टीकापुरबाट आएका सुदूरपश्चिम रोयल्सका समर्थक विशाल जोशीले प्रविधिगत उन्नति प्रशंसनीय रहेको बताए। तर उनले चिया, पानी र शौचालयको व्यवस्थापन अपर्याप्त भएको बताए।“पोहोर प्रवेशद्वारमै समस्या ठूलो थियो। धक्का–मुक्का र धुलाम्मे हुनुपर्थ्यो, बस्ने ठाउँ पनि चिसो थियो। यसपालि चाहिँ सुरुदेखि नै व्यवस्थित छ, आरामले सिटमा बसेर हेर्न पाइन्छ,” जोशीले भने।
सुरक्षा, पार्किङ र प्रवेश प्रणाली पनि यस वर्ष सहज भएको उनको भनाइ छ। तर शौचालय र किफायती खाद्यस्टलको अभावले झन्झट पर्ने गरेको जोशीले बताए।“पहिलो दिन त पानी नै थिएन। आवाज उठाएपछि दोस्रो दिनदेखि व्यवस्था भयो,” उनले थपे।उनका अनुसार रङ्गशालाभित्रका केही ‘रेस्टुराँ–स्टल’ महँगा हुने भएकाले धेरै दर्शकका लागि सहज छैन। आफ्नो टिम सुदूरपश्चिमको खेल राम्रो भएकामा भने उनले खुशी व्यक्त गरे।
सात वर्षे बालकसहित खेल हेर्न आएकी शान्ति शाहले पोहोरको तुलनामा टिकट बिक्री छिटो भएकाले रोजेको टिमको खेल हेर्न नपाएको बताए। तर कार्यक्रममा सहभागी हुन सहज वातावरण मिलेको र परिवारले आरामसँग खेल हेर्न पाएको बताइन्।“पोहोर उभिएर हेर्नुपरेको थियो, यसपालि सिटमा बसेर सजिलै अवलोकन गर्न पाएका छौँ,” शाहले भनिन्।
कर्णाली एक्सका समर्थक राजेश रानाले गत वर्षजस्तो चौरको चिसोमा बसेर खेल हेर्न नपरेको बताए। अन्तरराष्ट्रियस्तरको रङ्गशाला र व्यवस्थित व्यवस्थापनका कारण दर्शक संख्या पनि बढेको उनको भनाइ छ।“टिकटको मूल्य बढे पनि वितरण र प्रवेश–प्रक्रिया व्यवस्थित छ,” उनले बताए।
जुम्लाबाट कीर्तिपुर पुगेका दर्शक तरुण काफ्लेले पनि यसपटक व्यवस्थापन उत्कृष्ट भएको उल्लेख गरे।“पोहोर ब्ल्याकमा टिकट बिक्री हुन्थ्यो, जो सुकैले छिर्न सक्थ्यो। अहिले सुरक्षादेखि टिकट वितरणसम्म सबै प्रभावकारी छ,” काफ्लेले प्रतिक्रिया दिए।




