राजनीति

रास्वपाद्वारा सबै वैकल्पिक शक्तिलाई एकजुट हुन आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर रहेका सबै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ। पार्टीको सचिवालय बैठकले यस दिशामा आवश्यक सहजीकरण गर्ने निर्णय गरेको हो।

बैठकमा उच्च संवाद समितिले विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवादको प्रगति बारे ब्रिफिङ प्रस्तुत गरेको थियो। नेताहरूले सम्भावित राजनीतिक ध्रुवीकरण तथा सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउने विषयमा विस्तृत छलफल गरेका थिए।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, केन्द्रीय समितिको मंसिर ३ गतेको निर्देशनअनुसार सबै वैकल्पिक शक्तिहरूलाई एकजुट गराउन सचिवालय सक्रिय रूपमा सहजीकरणमा जुट्ने छ।

सचिवालय बैठकका पाँच मुख्य निर्णयहरू

१. विभिन्न दल, समूह तथा व्यक्तिसँग भएको संवादको प्रगतिबारे उच्च संवाद समितिद्वारा पेश गरिएको ब्रिफिङ सुनेर सम्भावित राजनीतिक ध्रुवीकरण तथा सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन सहजीकरण गर्ने।

२. पार्टीका केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेका रिक्त पदहरू भर्न योग्य सदस्यहरूको नाम सिफारिस गर्न केन्द्रीय समितिसँग अनुरोध गर्ने।

३. प्रदेश इन्चार्जका रूपमा भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै आगामी निर्वाचन केन्द्रित जिम्मेवारी प्रदान गर्ने तथा नयाँ प्रदेश इन्चार्जहरू केन्द्रीय सदस्यहरूबाट तोक्ने।

४. सबै पालिकामा पार्टीको ‘र्‍यापिड एक्शन टिम’ गठन गर्ने र यस सम्बन्धमा प्रदेश तथा जिल्ला संगठनलाई निर्देशन दिने।

५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० अनुसार कीर्तिपुर नगर समिति विघटन गर्ने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *