काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनको मूल नारा तय गरेको छ। च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले तयारी योजना सहित विभिन्न निर्णय गरेको हो।
बैठकले महाधिवेशनको लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारा स्वीकृत गरेको छ। एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म हुने तय छ।
उद्घाटन समारोहका लागि ३ सम्भावित स्थान प्रस्तावित गरिएको छ— खुलामञ्च, भृकुटीमण्डप र भक्तपुर सल्लाघारीको खाली जमिन। बैठकमा सहभागी एक नेताका अनुसार भृकुटीमण्डप क्षेत्रफलमा सानो पर्ने, खुलामञ्चमा काठमाडौं महानगरका मेयर बालेन साहले कार्यक्रम अनुमति नदिन सक्ने आँकलनसहित सल्लाघारीलाई सबैभन्दा उपयुक्त विकल्प मानिएको छ।
उनले बताए, ‘भेन्यूका लागि ३ ठाउँ प्रस्ताव भए। तीमध्ये ९९ रोपनी क्षेत्रफलको सल्लाघारीको खाली जमिन उत्तम देखिएको छ। सम्भवत: उद्घाटन त्यहीँ हुने सम्भावना धेरै छ।’
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पनि काठमाडौंमा सवारी जाम तथा सर्वसाधारणको आवतजावतमा पर्न सक्ने असजिलोलाई ध्यानमा राखेर उद्घाटनस्थल सल्लाघारीमै सारिने सम्भावना बढी रहेको बताए। महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डपमै हुने छ।
महाधिवेशन तयारीका लागि बनेका १२ उपसमितिहरूले अहिलेसम्मको प्रगति तथा आगामी योजनाबारे बैठकमा जानकारी गराएको गौतमले बताए।




